काठमाडौं, १९ जेठ ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘संकल्प’ले आगामी २०८४ को आम निर्वाचनलाई केन्द्रमा राख्दै महिलाको राजनीतिक सहभागिता बढाउने लक्ष्यसहित ‘मिसन ५०’ अभियान सञ्चालनमा ल्याएको छ ।
राज्यका हरेक तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्ने उद्देश्यसहित संकल्पले अभियान थालेको हो । समावेशी न्याय र लोकतान्त्रिक समाज निर्माण गर्न समानता, सहभागिता र नेतृत्वमा विविध महिलाको पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष लीली थापाले बताउनुभयो ।
संस्थाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतका अनुसार राजनीतिमा महिला निर्णायक हुनुपर्छ । `हाम्रो लक्ष्य शान्तिपूर्ण, समतामूलक र लोकतान्त्रिक नेपाल निर्माण गर्नु हो, जहाँ सबै वर्ग र समुदायका महिलाले राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सकून्´, बस्नेतले भन्नुभयो ।
अभियानलाई सशक्त बनाउन संकल्पले सातै प्रदेशमा प्रादेशिक संरचना निर्माण गरिरहेको छ । हालसम्म पाँच प्रदेशमा समिति पुनर्गठन भइसकेको र बाँकी दुई प्रदेशमा तयारी भइरहेको संस्थाले जानकारी दिएको छ ।
बागमती प्रदेशको संरचना आइतबार पुनर्गठन गरिएको छ । नयाँ नेतृत्वमा लक्ष्मीकुमारी प्रधान अध्यक्ष, सविता महर्जन उपाध्यक्ष, सरिता पौडेल सचिव, सिसन श्रेष्ठ कोषाध्यक्ष र सिर्जना भण्डारी, छिरिंग डोमा शेर्पा तथा सुस्मिता खाँती सदस्य रहेका छन् ।
संस्थाकी पूर्व अध्यक्ष लीली थापाका अनुसार संकल्पले विगतमा महिलामैत्री संविधान निर्माणमा योगदान पुर्याएको र पहिलोपटक ‘छोरी’ शब्दलाई संवैधानिक मान्यता दिलाएको थियो ।
हाल संस्थाले नीति निर्माणमा देखिएका त्रुटिहरू संकलन गरी सरकारलाई सुझाव दिने, लैंगिक सम्बन्धी बनेका ५६ वटा कानुनको कार्यान्वयन मूल्यांकन गर्ने र प्रत्यक्ष निर्वाचनमा महिलाको जित सुनिश्चित गर्न विशेष क्लस्टर निर्माणको पहल गरिरहेको छ ।
संकल्पसँग हाल सामाजिक रुपमा सक्रिय १० वटा महिला संस्थाहरू आबद्ध छन् । तीमध्ये क्रियाशील पत्रकार महिला, विकल्प, डब्लुएचआर, नागरिक आवाज, नेपाल अपाङ्ग महिला संघ, फेडो, नेपाल आदिवासी जनजाति महिला महासंघ, फतिमा फाउन्डेसन, मितिनी नेपाल र मैथिली कला केन्द्र रहेका छन् ।