चितवन, २० वैशाख ।
चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समूह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन् । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट, भुपेन्द्र कर्माचार्य, गोपाल भट्टराई र सजिब वदन भण्डारी चयन भएका छन् ।
कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीले देशको बिषम परिस्थितिमा पनि केही प्रगति गर्न सफल भएको बताए । ‘हामीले पहिलो चरणमा रियल स्टेटलाई प्राथमिकता दिएर काम गर्यौँ । अपेक्षित सफलता प्राप्त गर्यौँ´, अध्यक्ष श्रेष्ठले भने – `यहांँसम्म आइपुग्न सबैको उत्तिकै हात छ ।’ आगामी वर्षमा कम्पनीले संभावित क्षेत्रमा लगानी गर्दै जाने उनले बताए । ‘संकटमा पनि संभावना र अवसर खोज्नुपर्छ´, अध्यक्ष श्रेष्ठले भने – `हाम्रो जस्तो देशमा कुन क्षेत्रमा बढी संभावना र भविष्य छ सोही क्षेत्रमा लगानी गर्नुपर्छ ।’
कम्पनीका सदस्य मनोज रानाभाटले संस्थाको गतिविधि, उद्धेश्य बारेमा जानकारी दिंँदै अप्ठ्यारो परिस्थितिमा पनि कम्पनीले उचाई प्राप्त गर्न सफल भएको बताए । ’कोरोनापछि हरेक क्षेत्र तहसनहस छ´, रानाभाटले भने – `तर हामीले जुन क्षेत्रमा हात हाल्दै आएका छौँ, सफल नै भएका छौँ ।’
कम्पनीका अर्का सदस्य एवं चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले समय परिस्थिति अनुसार लगानीलाई विस्तार र परिमार्जित गर्दै लैजानुपर्ने बताए ।
‘नेपालमा हाइड्रो र अटोमोबाइल क्षेत्र, त्यस्तै वल्ड एज होममा पनि उत्तिकै संभावना छ । हाम्रा अनुभवी व्यवसायीहरुबीच सल्लाह गरेर थप क्षेत्रमा लगानी गर्दै जानुपर्दछ’ – भट्टराइले भने । यसका लागि त्यो क्षेत्रको बजार, उपभोक्ता माग अनुसार लगानी गर्नुपर्ने उनको भनाई छ ।
कम्पनीका अर्का सदस्य दिेपेश श्रेष्ठ (ख) ले नेपालमा हरेक व्यवसाय फष्टाउन नसकिरहेको बेला नयांँ क्षेत्रमा लगानी गर्दा विचार गरेर मात्र गर्नुपर्ने बताए । ‘हाम्रो ग्रुपमा हरेक क्षेत्रका विज्ञहरु हुनुहुन्छ, उहांँ लगायतको टीम बसेर लगानीको ग्यारेन्टी गर्ने गरी मात्र काम गर्नुपर्छ´- श्रेष्ठले भने ।
चितवन चेम्बर अफ कर्मसका उपाध्यक्ष एवं कम्पनीका सदस्य रुवीन रामुदामुले सुरक्षित क्षेत्रमा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । ‘लगानी गर्नुअघि अन्तरराष्ट्रिय बजार, अर्थतन्त्र र नेपालमा पर्ने प्रभावको बारेमा पनि अध्ययन गर्न जरुरी छ´, रामुदामुले भने – `अर्को कुरा सरकारको पोलिसीलाई पनि हामीले हेनुपर्ने हुन्छ ।’
सहभागी अन्य सदस्यहरुले कम्पनीमा लगानी गर्ने मात्र होइन दीर्घकालीन योजना, भिजन र विज्ञ सहितको टीम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले संकटमा पनि प्रशस्त संभावना हुने भन्दै स्वदेशमै युवा फर्काउने, रोजगारी सिर्जना गर्ने र निर्यातमुखी उद्योग व्यवसायमा लगानी गर्न सुझाव दिएका थिए । कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारीलगायत क्षेत्रका व्यवसायीहरु गरी ३० जना सदस्य आवद्ध छन् ।





