काठमाडौं, १६ वैशाख ।
नेपाली लेखक सङ्घले आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उनलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे ।
विसं २००० मा वीरगञ्जमा जन्मेका गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । विसं २०२४ बाट उपन्यास लेख्न थालेका उनका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समय आशाभन्दा निराशा बढिरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्न सबै लाग्नुपर्ने धारणा राखे । उनले विगतमा भन्दा धेरै कुराहरू परिवर्तन हुँदै आए पनि सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिए।
पुरस्कृत व्यक्तित्व गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे । उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे ।





