विनोदबाबु रिजाल/विप्लव काफ्ले
चितवन, २१ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना शुक्रबार बिहान ९ बजेबाट गरिने भएको छ ।
भरतपुर–१० स्थित चितवन मा.वि.मा आज रातिसम्ममा सबै मतपेटिका ल्याइसक्ने र बिहान ९ बजेबाट मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफलले निर्णय गरेको छ ।

बिहीबार राति अबेरम्म मतपेटिका ल्याउने कार्य चलिरहेकाले मतगणना शुक्रबार बिहान ९ बजेबाट मात्रै सुरु गर्ने सहमति सर्वदलीय बैठकले गरेको हो । मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको बैठकले तीनै क्षेत्र र ६ वटै प्रदेशको गणना ७ घण्टे सिफ्टमा ३ सिफ्ट गर्ने सहमति भएको छ । त्यस्तै प्रत्येक राजनीतिक दलले एक गणक प्रतिनिधि गणना कार्यमा सहभागी गराउन पाउने सहमति भएको ३ नम्बर क्षेत्रका निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिए ।
मतपत्र ल्याउँदा उच्च सुरक्षा
चितवनमा मतदान सकिएपछि बिहीबार रातभर मतपेटिक गणनास्थलमा ल्याउने काम चलिरहेको थियो । ४ सय ८ मतदान केन्द्रमा १ हजार २ सय २४ मतपेटिका प्रयोग भएका थिए । नारायणी माविको मतपेटिका पहिलो पटक गणनास्थलमा आइपुगेको थियो । चितवन क्षेत्र नम्बर २ का मतपेटिका अन्य क्षेत्रको तुलनामा छिटो आइपुगेका थिए । बाँदरझुला, लोथर क्षेत्र, इच्छाकामना गाउँपालिका लगायतका क्षेत्रका मतपेटिका अवेर मतगणनास्थल आइपुगेका थिए ।
“मतपेटिक ढुवानीमा उच्च सतर्कता अपनाएका छौँ”, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, “न्यून संख्याका स्थलका मतपेटिका झण्डै २ घण्टा हिँडेपछि मात्र समथर भुभाग आइपुग्ने ठाउँ छन्”, उनले भने, “नेपाली सेना, शशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँगै गस्ती पेट्रोलिङ गर्दै गणनास्थलसम्म ल्याउने काम गरेका छौँ”, उनले भने, “कर्मचारी, उम्मेदवारका प्रतिनिधिसँगै राखेर मतपेटिका ल्याएका छौँ, दुर्गम क्षेत्रका मतदान स्थलबाट मतपेटिका ल्याउँदा उचित सुरक्षा रणनीति अपनाएका छौँ ।” उनले जिल्ला निर्वाचन सुरक्षा योजना अनुसारनै मतगणनाका क्रममा भरपर्दो छेकबार सहित मतगणना स्थल निर्माण गरिएको बताए ।
मतगणना स्थलमा सिसी क्यामरा
मतगणना स्थल चितवन माविमा सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले शशस्त्र प्रहरी, नेपाल प्रहरीले गणनास्थललाई उच्च सुरक्षा दिएको बताए ।
गणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन् । “प्रतिनिधि र प्रदेशसभा सदस्यका मत गन्न निर्धारण भएका सबै कोठामा सिसी क्यामरा जडान गरिएको छ, चौर र बरण्डामा समेत सिसी क्यामरा जडान भएको छ”, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, “मतगणना स्थलभित्रका हरेक गतिविधिको भिजुवल रेकर्ड गर्ने व्यवस्था मिलाइएको छ ।”





