प्रमिता ढकाल
भरतपुर, १९ मन्सिर ।
आगामी मंसिर २१ गतेको निर्वाचनका लागि चितवनमा खटाइएका कर्मचारीहरु सोमबार आ–आफ्नो मतदानस्थलतर्फ प्रस्थान गरेका छन् । निर्वाचनका लागि आवश्यक सामग्री मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र, सहयोगी सामग्रीसहित ६६ प्रकारका निर्वाचन सामग्री भने जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर बुझेपनि गन्तव्यतर्फ लागेका छन् ।
कूल १ सय ६१ मतदानस्थलमा ४ सय ८ वटा मतदान केन्द्र रहेको चितवन जिल्लामा प्रत्येक केन्द्रमा एकजना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ४ जना सहायक कर्मचारी र २ जना कार्यालय सहयोग गरी ८ जनाको संख्यामा कर्मचारी खटिएका छन् । ४ सय ८ वटा मतदान केन्द्र रहेको जिल्लामा ४ सय ८ जना मतदान अधिकृत, ४ सय ८ जना नै साहयक मतदान अधिकृत, १ हजार ६ सय ३२ जना सहायक कर्मचारी र ८ सय १६ जना कार्यालय सहयोगी आ आफ्नो कार्य क्षेत्रमा खटाइएकाछन् ।चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ३७ वटा मतदान केन्द्रमा १ हजार ९६ जना कर्मचारी खटिएका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ सय २२ वटा मतदान केन्द्रमा ९ सय ७६ जना र निर्वाचन क्षेत्र नम्बर ३ मा १ सय ४९ वटा मतदान केन्द्रमा १ हजार १ सय ९२ जना कर्मचारी खटिएका छन् । चितवनमा सुरक्षाकर्मीबाहेक कर्मचारी मात्र ३ हजार २ सय ६४ जना निर्वाचनमा खटिएका हुन् । चितवनको ३ वटा निर्वाचन क्षेत्रमा ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।सदरमुकाम बाट टाढा खटाइएका कर्मचारीहरु शनिबार बाटै कार्यस्थल जान सुरु गरेका थिए । सोमबार आयोगले खटाएका कर्मचारीहरुसबै कर्मचारी सोमबारै फिल्डमा पुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि चितवनमा तीन लाख ५४ हजार ३६ जना मतदाताले मतदान गर्न पाउनेछन् । जसमा सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ३ मा रहेका छन् । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८२३ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं ६, ८, ९, १३ देखि २८ र माडी नगरपालिका पर्दछ ।
यस्तै क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९ सय ९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् । क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २ सय १५ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन् ।
सोमबार फिल्डमा पुगेका कर्मचारीहरुले मंगलबारबाट मतदाता परिचयपत्र वितरण कार्य सुरु गर्नेछन् । मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा कार्यसमेत सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले बताए ।





