चितवनवासी भोट हाल्न व्यग्र

चितवन, १८ मंसिर ) ः देश संघीय तथा प्रदेशसभा निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएर आवश्यक जनशक्ति समेत खटाई सकेको छ ।

निर्वाचन आयोगका अनुसार आज निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन हो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकाल आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने बताउनुहुन्छ । त्यसअघि नै साँझ ७ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले प्रचार गर्न पाइँदैन ।

निर्वाचन सन्निकटमा आइपुग्दा राजनीतिक दलहरु आज अन्तिम कसरतमा जुटेका छन् । आज पनि चुनावी अभियान र सभाहरु भैरहेका छन् । घरदैलो जारी छ । यता मतदाताहरुमा छुट्टै उत्साह छ । मतदान गर्ने दिन मंसिर २१ को व्यग्र प्रतीक्षामा छन् मतदाताहरु । पहिले जितेका नेताले खासै काम गर्न नसकेको आक्रोश पनि मतदातामा देखिन्छ । कतिपय मतदाता मताधिकारका लागि भोटहाल्नै पर्छ भनेर पैरवी पनि गर्दैछन् । अधिकांशले अब साँच्चै देशले विकास पाउँछ भन्ने आशा साँचेको पाइन्छ ।

नेपालको संविधानले तोके अनुसार स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार गठन भैसकेको छ । अब संघ र प्रदेशको निर्वाचनले संविधान कार्यान्वयनको एक चरण टुँगिन्छ । निर्वाचनपछि विसं २०६२÷६३ को जनआन्दोलनपछिको संक्रमणकाल सकिने र देशले आर्थिक समृद्धिमा फड्को मार्ने आशा छ भरतपुरका मतदाता मनोज अर्यालको ।

शान्ति प्रक्रिया र संविधान निर्माणले १० वर्ष सयम लियो । अबको दशक विकास र स्थायित्व हुनुपर्ने माग मतदाताहरुको छ । त्यसैको चाहनामा मतदान गर्न आतुर भएका छन् मतदाता । चितवनका एकजना बुद्धिजीवी विनोदखण्ड तिमिल्सिना स्थायित्व, समृद्धि र समाजवादको यात्रामा देशलाई डो¥याउन यसपटक भोट हाल्न लागेको प्रतिक्रिया दिनुहुन्छ । उहाँमा अब भने विकासले गति लिने आशा जागेको छ । हुन त चुनावको मुखमा राजनीतिक दलले विकासे नारा ल्याउनु पुरानै चलन हो । व्यवहारतः कार्यान्वयन कमै भैरहेका छन् । चुनावको मुखमा भोट माग्दै घरदैलो गर्ने नेताहरु पुनः जनताको घर आउन अर्काे चुनाव कुर्नुपर्ने अवस्था छ । तै पनि जनताले आशा मारेका छैनन् ।

मुख्य राजनीतिक दलहरु दुई खेमा (वाम र लोकतान्त्रिक गठबन्धन) मा बाँडिएकाले पनि उनीहरुका सामु यसपटक विकास गर्ने ठूलै चुनौती छ । वाचा पूरा गरेनन् भने आगामी समय उनीहरुका लागि सकस हुने देखिन्छ ।

भरतपुरका सामाजिक अभियन्ता वीरेन्द्र पौडेलले आफ्नो मताधिकार प्रयोग गर्न छुटाउनै नहुने बताउनुहुन्छ । ‘अधिकार प्रयोग गरेर सक्षम नेतृत्व छान्नका लागि मेरो भोट हो,’ पौडेल थप्नुभयो – ‘योजना सहितको दिगो विकास हुन्छ । त्यो पनि वातावरणमैत्री सहितको भन्ने आशा छ ।’ केही मतदाताहरु उत्साह नभएको प्रतिक्रिया पनि दिन्छन् । शिक्षक एवं धार्मिक अध्येता तथा लेखक लक्ष्मण भण्डारी चुनाव हलुका र सस्तो बन्दै गएको बताउनुहुुन्छ । तैपनि मताधिकार प्रयोग गर्न भने नछुटाउने भण्डारीको भनाइ छ । दलको गतिविधिले नै उहाँलाई निराश पारेको हो ।

वर्तमान राजनीतिक अवस्थाप्रति उदासीन प्राध्यापक कृष्णकान्त पौडेल अब नयाँ पुस्ताले केही गर्छन् कि भन्ने आशामा हुनुहुन्छ ।

बुद्धिजीवी खेमराज अधिकारी यसपालिको मतदान समृद्धिकै लागि समर्पण गरेको बताउनुहुन्छ । अब बहुमतको सरकार बन्ने र देशले कोल्टो फेर्ने अधिकारी दावी गर्नुहुन्छ ।

निर्वाचनपछि प्रदेश सरकार र संघीय सरकार बन्नेछ । विसं २०७२ सालमा नेपाली जनताले बनाएको पहिलो संविधानबाट नेपाल संघीय संरचनामा प्रवेश गरेको हो । राज्यलाई संघ प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरेर अधिकारको बाँडफाँड गरिएको छ ।

स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार बनिसक्यो । नेपालका ३२ जिल्लाको संघ र प्रदेशको निर्वाचन भैसकेको छ भने मंसिर २१ गते बिहीबार थप ४५ जिल्लामा निर्वाचन हुँदैछ । त्यसैको तयारीमा देश छ । जनताले जनभावनाको कदर गरी बोलेका कुरा दृढ संकल्पका साथ पूरा गर्न नेताहरुलाई सुझाएका छन् । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट