माडी, १० जेठ ।
चितवनमा जन्मदिवसलगायतका विभिन्न अवसरमा पुस्तक वितरण गर्ने प्रचलन अभियानका रूपमा अगाडि बढेको छ । यसैक्रममा प्रदेश युवा परिषद् जिल्ला कार्यसमिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालले जन्मदिनको अवसर पारेर माडी क्याम्पसलाई पुस्तक सहयोग गरेका छन् । बिहीबार विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तित्वको उपस्थितिमा लम्सालले माडी क्याम्पसका प्रमुख रामकृष्ण क्षेत्रीलाई पुस्तकालयमा रहनेगरी २१ थान किताब उपलब्ध गराएका हुन् ।
पठन संस्कारमा टेवा पुर्याउने उद्देश्यले क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै बजारमा आएका चर्चित किताब उपलब्ध गराइएको लम्सालले बताए । इतिहास, दर्शन, आख्यानसँग सम्बन्धित पुस्तकहरू विद्यार्थी शिक्षक सबैलाई उपयोगी हुने उनले बताए । क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले पढ्ने बानीलाई मोबाइलले साँघुरो बनाउँदै लगेको अवस्थामा पुस्तकालयमा किताब राखिदिएर पढ्न प्रेरित गरिँदा विद्यार्थीमा पढ्ने बानीको विकास हुने आशा राखेको बताए ।
पुस्तक हस्तान्तरण कार्यक्रममा सहायक क्याम्पस प्रमुख तोयानाथ तिवारी, अध्येता सुरेशबहादुर थापा, समाजसेवी ओभनाथ पाण्डे, भागिरथ बस्याल, सन्तोष सुवेदी, अनुज चापागाईं, सम्पूर्ण किताब नारायणगढका सञ्चालक तथा पठन संस्कारका अभियन्ता लेखराम सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कवि अध्येता विपिन पाठकले सहजीकरण गरेका थिए ।




