नागरिकताको विषयमा कैलाश सिरोहिया पक्राउ

काठमाडौं, ८ जेठ ।
नागरिकताको विषयमा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

मंगलबार नै जिल्ला अदालत धनुषाले उनी बिरुद्द पक्राउ आदेश जारी गरेको थियो । उनको बाबू घासीराम माडवारी अंगिकृत नागरिक भए पनि नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको र नागरिकता लिँदाको कागजपत्र नखुलेपछि उनी बिरुद्ध  अनुसन्धान गरेको थियो ।

केहीले व्यक्तिगत नागरिकताको विषयलाई प्रेस स्वतन्त्रतासँग जोडेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सिरोहियालाई पक्राउ गरेर सरकार ‘ज्ञानेन्द्रपथ’ मा हिँडेको आरोप लगाएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले आफूले नागरिकता प्रकरणमा कुनै बदमासी नगरेको स्पष्ट पारेका छन् । उनले आफूबिरुद्ध पक्राउ पूर्जी जारी भएपछि आफूले २०३६ सालमा नागरिकता लिएको र २०५७ सालमा सोही नागरिकताको प्रतिलिपि लिएको भन्दै आफूसँग दुइटा नागरिकता नभएको स्पष्ट पारेका छन् । उनले गृहमन्त्री रवि लामिछानेले भने दुइटा पासपोर्ट लिएको उल्लेख गर्दै पहिले उनलाई पक्राउ गर्नुपर्ने बताए ।

उनले प्रशासन कार्यालयले आफूले लिएको प्रतिलिपि नागरिकतामा अलग्गै नागरिकता नम्बर भएको भए आफ्नो नभई प्रशासन कार्यालयको दोष रहेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले राज्यशक्तिको दुरुपयोग गरेर आफूमाथि प्रतिशोध साँधेको बताएका छन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन’, अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ । उनले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

‘राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन’, उनले भनेका छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य–तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट