रत्ननगर, ९ फागुन ।
रत्ननगर नगरपालिका- १२, जिरौनामा रहेको पिस भिजन सेकेन्डरी बोर्डिङ स्कुलले गत फागुन ४ र ५ गते सम्पन्न ८० औँ खुल्ला जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुन सफल छात्रछात्रालाई पदक हस्तान्तरण गरेको छ ।
तेक्वान्दो प्रशिक्षक नवीन विकले प्रशिक्षण दिएको प्रतियोगितामा २८ देखि ३२ केजी तौल समूहमा आकृति मोक्तान प्रथम, ४० देखि ४५ केजी तौल समूहमा किरण श्रेष्ठ द्वितीय र ५८ केजीभन्दा कम तौल समूहमा हेमन्त कुँवर तृतीय भएका थिए । विजयी विद्यार्थीहरुलाई विद्यालयमा आयोजित कार्यक्रममाझ प्राचार्य यमप्रसाद काफ्लेले पदक प्रदान गरे ।
सो अवसरमा नृत्य, स्काउटटिङ, रेडक्रस, अतिरिक्त क्रियाकलापलगायत अन्य खेलकुद गतिविधिमा विजेता विद्यार्थीहरुलाई पनि पदक वितरण गरिएको थियो । खेलकुद शारीरिक विकास तथा अनुशासनका लागि महत्त्वपूर्ण रहेको भन्दै प्राचार्य काफ्लेले विद्यार्थीहरुलाई बधाई दिए ।
२०६३ सालमा स्थापित सो विद्यालयले रत्नननर महोत्सवको विभिन्न संस्करणमा पनि सहभागी भई निरन्तर पुरस्कृत हुँदै आएको छ ।





