भरतपुर, ९ फागुन ।
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रवद्र्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।
भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड सत्तरी लाखमध्ये बोर्डले सत्तरी लाख रुपैयाँ बेहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ब्रोसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्डले गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न उनले अनुरोध गरिन् । देशका भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन गर्न भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको प्रमुख दाहालले बताइन् ।
कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए ।
भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको उनले जानकारी दिए । भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रि रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाई छ ।
भ्रमण वर्षको तयारी तीब्र
भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल भएको थियो । महानगरपालिकाले भ्रमण वर्षको तयारीका लागि दैनिक रुपमा सरोकारवालासँग निरन्तर छलफल गर्ने पनि जनाएको छ ।
उद्घाटनको दिनमा नारायणी किनारमा ५० हजार जना सहभागि गराउने गरी वडागत रुपमा तयारी भईरहेको छ । कार्यक्रमको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमका लागि निस्किने ¥याली, झाँकी, मञ्च व्यवस्थापन, शैचालय व्यवस्थापन, आकस्मिक उपचारलगायतका विषयमा विज्ञहरुसँग छलफल भएको थियो । महानगर प्रमुख दाहालले भ्रमण वर्षलाई सफल बनाउन सबैको हातेमालो अवश्यक रहेकाले यसमा सबैले अपनत्व लिनुपर्ने बताइन् । छलफलमा विषयगत समितिले अहिलेसम्म भइरहेको तयारीबारे बिफ्रिङ गरेका थिए ।





