भरतपुर, ९ फागुन
प्लाष्टिकजन्य फोहोरमध्ये खाली बोतलको फोहोर कम गर्न अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रियसन) नामक गैरसरकारी संस्थाले भरतपुर महानगरपालिकाभित्र ग्रिन सिफ्ट नेपाल परियोजना सुरु गरेको छ । बागमती प्रदेशकी वातावरण तथा वनमन्त्री मसिना खड्काले बुधबार एक कार्यक्रमबीच परियोजनाको उद्घाटन गरेकी हुन् ।
परियोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले वातावरण सफा राख्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । क्रियसनका अध्यक्ष एवं संस्थापक आनन्द मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सचिव सुजाता कोइराला, विद्यार्थीद्वय सीता मगर र सुवास घर्ती मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
ग्रिन सिफ्ट नेपाल परियोजनाबारे युनिस घिमिरे, संगीता महर्जन र सबिन डोटेलले संयुक्त प्रस्तुति दिएका थिए । युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित चारवर्षे यस परियोजनाले वातावरणमा मिल्काइएका प्लाष्टिकका बोतल संकलन गरी तिनलाई सफा गरेर कुच्याई कच्चापदार्थ उत्पादक कम्पनीलाई बिक्री गर्दछ ।
परियोजना उद्घाटन समारोह ग्रिन सिफ्ट नेपाल परियोजना परिसर भरतपुर–४, शिवघाटमा आयोजना गरिएको थियो । कार्यक्रमस्थलमा केराको रेसा, बाँस, कागजलगायत गैरप्लाष्टिकबाट बनेका हस्तकलाका सामान बिक्रीका लागि राखिएको थियो ।





