कावासोती, २७ माघ ।
कावासोती नगरपालिका- १२ मा ज्येष्ठ नागरिक सम्मान, आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना, कावासोती नगरपालिका आयुर्वेद शाखाको सह आयोजना र वडामा रहेका विद्यालयको समन्वयमा शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा शुक्रबार कार्यक्रम गरिएको हो ।
कावासोती नगरपालिका वडा नम्बर १२ बाट आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिए । ज्येष्ठ नागरिकलाई अघिल्लो वर्ष पनि वडाबाट सम्मान गरिएको तर यो वर्ष अन्तरपुस्ता संवादसहित सम्मान गरिएको उनले बताए । बालबालिकाहरुलाई पुर्खाका अनुभव, ज्ञान तथा सिकाइको जानकारी गराउनुका साथै ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ भन्ने सिकाउनका लागि कार्यक्रम गरिएको उनको भनाई छ ।
कावासोती- १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकासँग ज्येष्ठ नागरिक संवाद कार्यक्रममार्फत उहाँहरुका अनुभव, भोगाई र सिकाईलाई नयाँ पुस्तामा जानकारी गराउन र बालबालिकालाई नैतिकवान बनाउन प्रेरित गर्ने बताए । आगामी वर्षबाट विद्यार्थीहरुसँग ज्येष्ठ नागरिकबीचको अन्तरपुस्ता संवादको कार्यक्रम कावासोती नगरपालिकाका सबै वडामा गर्नुपर्ने र नगरपालिकाबाट सो कार्यक्रमका लागि आवश्यक सहयोग रहने उनले प्रतिबद्धता जनाएका छन् ।
शान्ति निकुञ्ज माध्यमिक विद्यालय, राजरत्न आधारभूत विद्यालय, सन्तुदेवी आधारभूत विद्यालय र वाईज भिजन बोर्डिङ स्कुलबाट सहभागी विद्यार्थीहरुले ज्येष्ठ नागरिकका बाल्यकाल, शिक्षा, संस्कृति , भोगाई, रहनसहनलगायतका विषयमा प्रश्न सोधेका थिए भने ज्येष्ठ नागरिकले त्यसको उतर दिँदै बालबालिकाहरुलाई राम्रोसँग पढी देशमा नै केही गर्नसक्ने दक्ष नागरिक बन्नका लागि शुभकामना दिएका थिए ।
कावासोती नगरपालिका वडा नम्बर १२ मा ८० वर्ष उमेर पुगेका ४९ जना ज्येष्ठ नागरिक र ३ जना अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई दोसल्लासहित घ्यु, मह, आर्युवेदिक औषधिहरु प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि, बालबालिकाहरुमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको समेत गरिएको थियो । कावासोती नगरपालिकाका आयुर्वेद शाखाका वैद्य निरीक्षक गोविन्दराज पौडेलले आयुर्वेदिक औषधिको प्रयोगका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा शान्ति निकुञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण काफ्ले, प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, कावासोती नगरपालिका ज्येष्ठ नागरिक मञ्चका सदस्य चुमिलाल शर्मा, वडा सदस्यहरु, निवर्तमान वडा सदस्यहरु, वडामा रहेका विद्यालयला शिक्षक, विद्यार्थीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा सदस्य बन्दना भुजेलले स्वागत मन्तव्य राखेकी थिइन् भने राजु चापागाईले कार्यक्रमको सहजीकरण गरेका थिए ।





