देवचुली, २६ माघ ।
देवचुली नगरपालिका- ८ आँपटारीमा रहेको मिलिजुली आधारभूत विद्यालयमा निर्माण गरिएको प्राकृतिक फिल्टर पिउनेपानी टंकीको उद्घाटन गरिएको छ । लायन्स क्लब नारायणगढ नारायणीको रजत महोत्सवको अवसरमा निर्माण गरिएको खानेपानी टंकीको बुधबार नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक्ट ३२५ आर नेपालका पूर्व डिष्ट्रीक्ट गभर्नर सिद्धार्थलाल चुकेद्वारा उद्घाटन गरिएको हो ।
उद्घाटनमा बोल्दै प्रमुख अतिथि चुकेले नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक्ट ३२५ आर नेपाल र लायन्स क्लब नारायणगढ नारायणीको दुई लाख भन्दा बढीको लागतमा निर्माण गरिएको खानेपानी टंकीद्वारा विद्यार्थीहरुलाई सफा र शुद्ध पानी पिउनका लागि सहज हुने बताए ।उनले आगामी दिनमा समेत विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक सुधारका लागि २ थान २१ इन्चको टेलिभिजन समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
उद्घाटन कार्यक्रममा लायन्स क्लब नारायणगढ नारायणीका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयमा पिउनेपानी टंकी निर्माण गरेर क्लबले पुण्यको काम गरेको र आफ्नो विद्यालयमा सहयोग गरेकोमा नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक्ट ३२५ आर नेपाल र लायन्स क्लब नारायणगढ नारायणीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर थापा सारु मगरले धन्यवाद ज्ञापन गरे ।





