माडीपारिका भारतीय ठाउँ : बुद्ध, सेन र गान्धीबारे बुझ्न जाऊँ

बुद्ध र गान्धी विश्वलाई प्रभाव पार्ने व्यक्तित्व हुन् । सेन वंश नेपालको इतिहासमा चर्चा हुने प्रभावशाली राजाहरु भएको वंश हो । चितवन आडैको भारतीय भूमिमा यी तीनवटै पक्षसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक स्थलहरु छन् । नेपाल एकीकरण भइरहँदा शाह वंशले विजय गर्नुअघि चितवन तनहुँका सेन वशंका राजाको राज्यभित्र पर्दथ्यो । तनहुँका सेन राजाको राज्य हालको चितवन पारी रामनगरसम्म थियो । गोरखाली फौजले चितवनको सोमेश्वर पहाड उत्तरको भूमि नेपालमा गाभे पनि सोमेश्वर पहाड पारीको दक्षिणको भूमिमा सेनहरु कै जिमिन्दारी राज्य रहयो । जुन अहिले भारतको बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्लामा पर्दछ । माथि उल्लेखित बुद्ध, सेन र गान्धीसँग सम्बन्धित ऐतिहासिक स्थलहरु यही रामनगर वरपर छन् ।
चितवन सदरमुकाम भरतपुरबाट ७५ किलो मिटर दक्षिणमा छ पर्सा जिल्लाको ठोरी । दुरी छोटो भए पनि भरतपुरबाट ठोरी पुग्न अलि समय लाग्दछ । कारण भरतपुर माडी हुँदै ठोरी पुग्न दुई ठाउँमा गरेर चितवन राष्ट्रिय निकुञ्जको लगभग २५ किलो मिटर जंगल छिचोल्नु पर्दछ । हुलाकी सडकको एउटा खण्ड भए पनि निकुञ्जभित्रको बाटो कच्ची र अफ्ठ्यारो छ । गाडीले रफ्तार लिन सक्दैन । त्यसैले ७५ किलोमिटर पार गर्न निजी गाडीमा सरासर गए पनि अढाई तीन घण्टा लाग्न सक्छ । यात्रु बसमा गए चार पा“च घण्टा बित्छ । ठोरी पारि छ भारतीय बजार भिखनाठोरी । ठोरी क्षेत्र कुनै बेला गण्डकी धौलागिरी क्षेत्रका बासिन्दा नुन लिन जाने ठाउँ हो । ७२ सालको नाकाबन्दीका बेला यो ठाउँ फेरि चर्चामा आयो । डिजेल पेट्रोल सहज रुपमा भित्रिन नपाएपछि कुनै बेला नुन लिन जाने नेपालीहरु नाकाबन्दीका बेलामा ठोरीमा डिजेल पेट्रोल लिन गए ।
ठोरी र भिखनाठोरीबीच भएर बग्ने ठुटे खोला नै दुई देश बीचको अन्तर्राष्ट्रिय सिमाना हो । ठोरीमा स–सानो बजार छ । यी बजारमा प्रायः चिया, खाजा बिक्री हुन्छ । किराना सामानको लागि ठोरी आसपासका स्थानीय बासिन्दाहरु ठुटे खोला तरेर भारतीय बजार नै पुग्छन् । भिखनाठोरीमा पनि ठुलो बजार छैन । तर नेपालीलाई दैनिक आवश्यकताका सरसामाग्रीहरु यो बजारमा पाइन्छ । भिखनाठोरी र यहाँदेखि झण्डै ३५ किलोमिटर परको अलि ठुलो बजार नरकटियागञ्जसम्म नेपालीहरु किनमेलका लागि पुग्दछन् । हिजो होस् या आज, सिमावर्ती इलाकाका यी ठाउँहरु किनमेलकै लागि परिचित छन् । किनमेलबाहेक यो क्षेत्रमा बुद्ध, गान्धी र नेपालसँग प्रसंग जोडिएर आउने कुनै ऐतिहासिक र धार्मिक स्थलहरु पनि होलान् भनेर हेक्का राख्ने कमै छन् ।
महात्मा गान्धीको सत्याग्रहस्थल
भारतमा लामो समय शासन गरेका र त्यहाँका नागरिकलाई अत्याचार थिचोमिचो गरेर ‘गुलाम’ जस्तै ब्यवहार गरेका अंग्रेजहरुलाई परास्त गर्न महात्म गान्धीले शान्तीपुर्ण अहिंसात्मक आन्दोलनको साहारा लिए । गान्धीको आन्दोलनको यो शैलीलाई ‘सत्याग्रह’ भनिन्छ । मोहनदास करमचन्द गान्धीबाट महात्म गान्धीमा रुपान्तरण हुने ‘सत्याग्रह’को सुरुवात बिहारबाटै भएको थियो । ‘चम्पारण सत्याग्रह’बाट परिचित त्यो अभियानका बेला गान्धी र उनकी धर्मपत्नी कस्तुरबाले बनाएको आश्रम, विद्यालय, जातो, टेबल र विद्यालयको घण्टी हेर्न चाहने हो भने चितवन आडैमा यी सबै भेटिनेछन् ।
ठोरीपारीको भिखना ठोरीबाट अगाडी बढे लगत्तै अलि बिग्रेको बाटो आउँछ । चितवन निकुञ्ज जस्तै यो क्षेत्रमा पनि वालमिकी टाइगर रिजर्ब छ । टाइगर रिजर्बको जंगलभित्रको ६ किलो मिटर बाटो बिग्रे भत्केको छ । कही कतै कालोपत्रे देखिन्छ । नभएर धेरै जसो ठाउँमा कालोपत्रे उप्केर ‘बेस’का रुपमा राखेको इट्टाहरु देखिन्छन् । जंगल पार हुने बित्तिकै साँधुरो भए पनि कालोपत्रे सडक आउँछ । कालोपत्रे सडक दुई किलो मिटर पार परेपछि ‘सुभद्रा’ गाउँ आउँछ । जहाँ ‘सहोदरा माता’को पुरानो मन्दिर छ । कसै कसैले यसलाई बुद्धकी माता यसोधराको मन्दिर पनि भन्ने गर्दछन् । तर हाल हिन्दू शैलीको यो मन्दिरमा हिन्दू विधिकै पुजा अर्चना हुन्छ ।
सहोदरा मन्दिरबाट सिधै फराकिलो सडक समाएर दक्षिण लागे नरकटियागञ्ज पुगिन्छ । तर यहाँबाट दाहिने अलि सानो बाटो समाएर पश्चिम तर्फ लागे भारत बिहारको ग्रामिण क्षेत्रको खेति र मानव बस्ती हेर्दै हेर्दै भितिहरवा पुगेपछि गाडी रोकिन्छ । भिखनाठोरीबाट १८ किलो मिटर परको भितिहरवामा छ ‘गान्धी स्मारक संग्रहालय’ । सेतो कपडालाई धोएर सफा बनाएपछि चमक कायम राख्न ‘निर’ प्रयोग हुन्छ । केही वर्ष पहिला टेलिभिजनहरुमा ‘दुई बुँदबाला’ निर÷निलको प्रचार खुुबै आउँथ्यो । तर यो निर के कसरी उत्पादन हुन्छ ? धेरैलाई जानकारी छैन । खेतमा रोपिने बोट बिरुवाबाटै निर उत्पादन हुने रहेछ । बिहार क्षेत्रमा निरको खेती निकै फस्टाएको थियो ।
खेती फस्टाए पनि किसानहरुको आर्थिक उन्नति भएको थिएन । निर किन्ने व्यपारीहरु अंग्रेज नै हुन्थे । उनीहरुले किसानमाथि अत्याचार गरेका थिए । किसानमाथि भएको त्यो अत्याचारका बारेमा पण्डित राजकुमार शुक्लाले गान्धीलाई बारम्बार जानकारी गराएका थिए । सोही विषय प्रत्यक्ष हेर्न बुझ्न भन्दै गान्धी १५ अप्रिल १९१७ मा बिहारको चम्पारण आए । त्यसको तीन दिनपछि एसडिओ कोर्टमा मुद्दा दायर गरे । भारत स्वन्त्रता आन्दोलनमा यसलाई गान्धीको पहिलो सत्याग्रह भनिने बिहार सरकारको कला, संस्कृति तथा युवा विभाग अन्तर्गत रहेको संग्रहालय निर्देशानयले निकालेको गान्धी स्मारकको परिचय सम्बन्धि ब्रोसरमा उल्लेख छ ।
निर खेतीमा किसानले भोगेको अत्याचारबाट मुक्ति पाउने सम्भावना रहे पनि त्यो क्षेत्रमा रहेको शिक्षा, स्वास्थ्य, सरसफाइको दुरावस्था र महिला र बच्चालाई दयनीय स्थीतीबाट मुक्त गराउन गान्धीले आश्रमसँगै विद्यालयको आवश्यकता देखे । विभिन्न ६ ठाउँमा विद्यालय खोल्ने योजना अनुरुप २० नोभेम्बर १९१७ मा भितिहरवामा गाउँमा गान्धी आफै पुगेर विद्यालय उद्घाटन गरे । चार दिनपछि गान्धीकी धर्मपत्नी कस्तुरबा गान्धी पनि आएर आश्रम चलाउने र विद्यालय पनि नियमित गर्ने जिम्मेवारी लिइन् । त्यसैले भितिहरवाको गान्धी आश्रम ऐतिहासिक महत्वको छ । त्यो बेलाको आश्रमलाई उही स्वरुपमा जोगाएर राखिएको छ । र सामाग्रीहरु पनि संरक्षण गरिएको छ । त्यत्ति मात्रै हैन गान्धीका जन्मेदेखि हुर्के, बढेका, पढेका र आन्दोलनका अनेकौं तस्बिरहर पनि संग्राहालयमा छन् । गान्धीको जीवन बुभ्mन संग्राहालय निकै सहयोगी हुन्छ ।
गान्धीको जीवनको महत्वपूर्ण क्षणको साक्षी रहेको यो संग्राहालय गान्धी नै कतै उभिएका पो छन् कि भन्ने आभास गराउने ठाउँ हो । गान्धी विश्वलाई प्रभावित गर्ने पात्र हुन् । उनको जीवन र संघर्षसँग जोडिएको एउटा महत्वपुर्ण दर्शनीय स्थल नेपाल सिमानाबाट यति नजिक हुनु हाम्रा लागि सौभाग्य नै हो । किन कि गान्धीको दर्शन र चरित्र बुझ्न हामीलाई टाढा जानु परेन । तर यो ठाउँ हाम्रो जानकारीभन्दा पर नै रहेछ । नरकटियागञ्ज क्षेत्रमा यो आश्रम मात्रै नभएर हाम्रो ज्ञानको दायरालाई फराकिलो बनाउन सक्ने अन्य ठाउँ पनि छन् ।
रामपुरवाको जोडी अशोक स्तम्भ
भितिहरवाभन्दा पहिले आउँछ रामपुरवा गाउँ । गान्धी आश्रमभन्दा तीन किलो मिटर वर भिखनाठोरीबाट जम्मा १५ किलो मिटर पर छ यो गाउँ । पातलो वस्ती र खेति योग्य जमिनले भरिएको ठाउँको माझमा छ एउटा ससानो थुम्को र झ्याम्प परेको रुख आडमा जस्ताले छाएको दुई पाखे सर्लक्कको छाप्रो । त्यो छाप्रा तल छन् जोडी अशोक स्तम्भ । बुद्ध धर्मलाई अपनाएपछि सम्राट अशोकले बुद्धसँग सम्बन्धीत महत्वपुर्ण स्थलहरुमा स्तम्भ राख्दै हिँडे । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि उनैले राखेको स्तम्भ छ । रामपुरवामा यस्ता दुईवटा स्तम्भ छन् । तर ति खडा हैन ढलेका छन् । यहाँका सुरक्षा गार्ड हुन् जोगेन्द्र माझी । ५५ वर्षका माझीले बुद्ध र यी स्तम्भका बारेमा आफ्नै खाले कथा सुनाउँछन् । तर यस बारेमा आधिकारिक जानकारी दिने कुनै सामग्री त्यहाँ भेटिँदैन ।
भारतीय ग्रन्थकार बम्बबहादुर सिंह नेपाली ‘मगन’ले निकालेको ‘चम्पारणका इतिहास’ नामक पुस्तकमा उल्लेख भए अनुसार अशोकले इसापुर्व २३७ वर्ष यो स्तम्भ बनाएका हुन् । यी स्तम्भको माथि राखेको सिंह र साँढेको मुर्ती कलकत्ताको भारतीय संग्राहालयमा राखेको ‘मगन’को पुस्तकमा विवरण छ । अशोक स्तमभको अवलोकन गरेपछि तीन किलो मिटर पर गए गान्धी आश्रम पुगिन्छ । गान्धी आश्रमबाट १८ किलो मिटर पुर्व दक्षिण लागेपछि नरकटियागञ्ज आउँछ । नरकटियागञ्ज स–सानो सहर हो । रेल्वे जक्सन रहेको यो बजारको सानो तिनो भिडभाड छिचोल्दै ६ किलो मिटर दक्षिण गएपछि आउँछ चानकीगढ ।
चानकीगढमा विशाल क्षेत्रमा फैलिएको ठुलो खण्डहर छ । यो चन्द्रगुप्त मौर्य कालको कुनै शिक्षालय हो भन्ने विश्वास गरिन्छ । यहाँ पनि आधिकारिक जानकारी दिने कुनै व्यक्ति वा विवरणहरु भेटिदैनन् । बम्बबहादुर सिंहको किताप पढ्दा यसलाई चन्द्र गुप्त मौर्य कै पालामा बनाएको भन्ने उल्लेख छ । तर राजा जनकसँग पनि यो सम्बन्धित रहेको भन्ने एक पक्षको बिचार रहने गरेको कितावमा बताइएको छ । १९ फिट उचाइ र २५० फिट लम्बाइको यो खण्डहरको सत्यतथ्य विवरणभित्र पक्कै पनि ऐतिहासिक ज्ञानका खजनाहरु होलान् । तर त्यहाँ यस बारेमा जानकारी दिने कुनै व्यवस्था छैन । चानकीगढबाट थोरै दक्षिण र त्यसपछि हुँदै पश्चिम हानिएर नौ किलो मिटर पर पुगे पछि आउँछ रामनगर बजार । यो रामनगर सेनवंशको सम्बन्ध रहेको ऐतिहासिक क्षेत्र हो ।
रामनगरमा सेन वंशको श्वेत धरोहर
सेतो रंगको १७९ फिट अग्लो मन्दिर । नेपालको सिमाभन्दा पर भारत बिहार राज्यको पश्चिम चम्पारण रामनगरमा रहेको यो मन्दिर नेपालमा बन्ने प्यागोडा शैलीभन्दा फरक खालको छ । पाँचवटा शिखर रहेको यो ‘नर्मदेश्वर महादेव मन्दिर’ हो । यो मन्दिरको साइनो तनहुँका सेन वंशसँग जोडिएको छ ।
राजा प्रल्हाद सेनले बनाउन सुर गरेका हुन् यो मन्दिर । पाल्पाली सेन वंशका खलक हुन् प्रल्हाद सेन । यो मन्दिरको जगको काम सन् १८७९ मा राजा प्रल्हाद सेनले सुरु गरे । ‘मन्दिर नबन्दै उहाँको स्वर्गबास भयो । त्यसपछि उहाँको रानी विन्धवासीनेले ६ वर्ष लगाएर यो मन्दिर पुरा गर्नु भएको हो’ रामनगरका बासिन्दा रञ्जन उपाध्यायले भने । उनका हजुरबुबा अम्बिकाप्रसादले रामनगरका साथै नेपालको इतिहास पनि लेखेका छन् ।
उनै रञ्जन उपाध्याय महासचिव रहेको निर्माण समितिले पछिल्लो पटक यो मन्दिरको जिर्णोद्वार पनि गरेको थियो । ‘नेपालमा ७२ सालमा जुन भुकम्प गएको थियो नि त्यो बेला माथिको गजुरमा नोक्सानी पुगेको थियो । त्यसपछि हामीले मिलेर यो मन्दिरको जिर्णोद्वार गर्‍यौं’ उपाध्यायले भने । रञ्जन उपाध्याले यो मन्दिर बिहारमा बोधगया पछिको भब्य मन्दिर भएको सुनाए । उनले थपे ‘यो उत्तर भारतकै भब्य मन्दिरभित्र पर्दछ ।’
उ बेला भारतीय मुद्रा एक लाख २५ हजार रुपैयाँ खर्च गरेर यो मन्दिर तयार भएको उनले बताए ।  स्थापनाको झण्डै सय वर्षपछि सन् १९७२ मा यो मन्दिरको पहिलो पटक जिर्णोद्वार भएको छ । नारायणण बिक्रम शाहले ८० हजार भारतीय रुपैयाँ खर्च गरेर यो मन्दिर जिर्णोद्वार गरे । रामनगरका राजा मोहनविक्रम शाहका छोरा नारायणविक्र बिहारका विधायक पनि भए ।
‘दोस्रो जिर्णोद्वार प्रेमा शाहको अध्यक्षतामा सन् २००२ मा भएको छ । तेस्रो पटकको जिर्णोद्वारमा हामी पनि सामेल भइयो’ रञ्जनले भने । नर्मदेश्वर नदीबाट शिवलिंग ल्याएर मन्दिरमा राखेको उनले बताए । जिर्णोद्वारका बेलामा काठमाडौं पशुपतिनाथ मन्दिरको अग्रभागमा रहेको शिव भगवानको स्वरुप जस्तै बनाएर यो मन्दिरमा पनि राखिएको छ ।
इतिहासकार सुर्यमणि अधिकारीले लेखेको ‘तनहुँ राज्यको इतिहास’मा उल्लेख भए अनुसार बिशाल पाल्पा राज्य टुक्रिएपछि मुकुन्द सेन प्रथमका छोराहरु मध्ये जेठा पाल्पाका, माहिला बुटवलका, साहिँला भृङ्गी सेन तनहुँका र कान्छा मकवानपुरका राजा भए । तनहुँका राजा भृङ्गी सेन र उनीहरुका सन्तानले विस १६१० देखि १८३४ सम्म शासन गरेको इतिहास छ । तनहुँको राज्यको सिमाना फैलदै रामनगरसम्म पुग्यो ।
नेपाल एकीकरणका बेला तनहुँ र चितवन सम्पुर्ण भुभाग विस १८३९ मा शाह राजाहरुको नियन्त्रणमा आयो । तर सोमेश्वर पहाडबाट दक्षिणको रामनगर सेन कै जिमिन्दारी राज्यका रुपमा कायम रहयो । कुनै बेला तनहु राज्यको अंग रहेको रामनगर भारत स्वतन्त्र भएपछि पुर्ण रुपमा बिहार राज्यमा गाभियो । नर्मदेश्वर महामन्दिर बनाउन सुरु गर्ने प्रल्हाद सेनको मृत्युअघि नै उनका तीन भाइ छोराहरुको निधन भइसकेको थियो ।
प्रल्हाद सेनको छोरीको बिहे नेपालका शाह राजाका खलकसँग भएको थियो । प्रल्हाद सेनको मृृत्युपछि मन्दिरको निर्माण सम्पनन गरेकी विन्ध्यवासिनीले नै राज्य चलाइन् ।
विन्ध्यवासिनीकी एक मात्र छोरी बोधकुमारीको विहे नेपालका राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेविका कान्छा छोरा विरेन्द्रविक्रम शाहसँग भयो । विन्ध्यवासिनीको मृत्युपछि बोधकुमारी र विरेन्द्रका छोरा मोहनविक्रमले रामनगर राज्यको अपुताली पाएको इतिहासकार सुर्यमणि अधिकारीले आफ्नो कितापमा लेखेका छन् ।
सेन वंशले दरबारको राजकाज चलाउन तनहुँबाट नै खनाल, पौडेलहरुलाई लगेका थिए । उनीहरु कोही काजी भए, कोही फौजदार भए । नेपाली भाषा बोल्नेहरु कै माझमा खडा भएको भब्य मन्दिर सेन वंशको शान र प्रतिकका रुपमा रहेको छ । ‘अहिले राजाखलक र यहाँ बस्ने हामी नेपाली भाषीसहित अन्य समुदाय पनि मिलेर यसको रेखदेख संरक्षण गर्दै आएका छौं’ रञ्जनले भने ।
सेन वंशकै पालामा त्यहाँ पुगेका नेपाली भाषीका झण्डै ५० घर अहिले पनि छन् । सेनपछि राज्य चलाएका शाह खलकका १५÷२० घर परिवार पनि रामनगरमै छन् । मन्दिर आडमै सेतै रंगको भब्य दरबार छ । नेपाली सिमा क्षेत्र भिखनाठोरीबाट विभिन्न दर्शनीय स्थलहहरु हेर्दै बाङ् टिङ्गो बाटो गरे पनि ५१/५२ किलो मिटर यात्रा गरेर रामनगर पुगियो । रामनगरबाट थोरै पश्चिम र उत्तर हुँदै १६ किलो मिटर अगाडी बढेपछि गोबरधना भन्ने ठाउँ आउँछ । साँधुरो तर राम्रो पिच बाटो हुँदै गोबरधना पुगेपछि सामुन्ने जंगल र पहाड छ । त्यही पहाडको टाँकुरामा छ सोमेश्वर कालिका मन्दिर । चार किलो मिटर पर रहेको सोमेश्वर मन्दिर चितवनको माडी इलाकामा पर्दछ । त्यसैले भारतको पश्चिम चम्पारण क्षेत्र र चितवन सोमेश्वर पहाडको वारीपारी भएर बसेका छन् । यही सोमेश्वरगढी क्षेत्र हुँदै लिच्छिबीकाल मै काठमाडौं पटना व्यपार हुने गरेको चर्चा इतिहासमा पनि छ ।
लौरियाको अशोकस्तम्भ र नन्दनगढ
पुरै बिहार राज्य बुद्धको तपस्या, ज्ञान प्राप्ति र मृत्युसाग जोडिएको हुँदा यहाँ अनेकौं वौद्ध स्थल र स्तुपा बिहारहरु छन् । अशोक स्तम्भहरु पनि हुने नै भए । तर नेपालसँग नजिक रहेका अशोक स्तम्भको कुरा गर्दा रामपुरवापछि लौरियामा रहेको अशोक स्तम्भ छुटाउन मिल्दैन । यो ठाउँ नेपालसँग ऐतिहासिक साइनो जोडिन आउने रामनगरबाट २१ किलो मिटर सिधा दक्षिणमा छ । यहाँ अग्लो अशोक स्तम्भ छ र यसको शिरमा बाघको मुर्ती छ । सम्राट अशोक पटनाबाट नेपाल जाने बेलामा इसापुर्व २४९ मा यो स्तम्भ खडा गरेको भारतीय ग्रन्थकार बम्बबहादुर सिंह नेपाली ‘मगन’ले निकालेको ‘चम्पारणका इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।
लौरियाको अशोक स्तम्भदेखि दुई किलो मिटर पर छ नन्दनगढ । यो क्षेत्रमा पनि निकै प्राचिन कुनै संरचनाको भब्य खण्डर छ । तर यो के हो भन्ने आधिकारिक विवरण त्यहाँ केही भेटिदैन । यो लिचिछबीवंशका नन्द राजाले बनाएको किल्ला हो भन्ने मत पनि रहेछ । र ध्वशं भएको बौद्ध स्तुपा पनि हो भनिदो रहेछ । लौरियाबाट नरकटियागञ्ज १५ किलो मिटर छ । त्यहाँबाट भिखनाठोरी ३५ किलो मिटर छ । आइ जाइ गरेर सय डेढ सय किलो मिटरको दोहोरो यात्रा गर्दा बुद्ध, गान्धी र नेपालको प्राचिन तथा आधुनिक कालसँग सम्बनिधत अनेकौ स्थलहरु अवलोकन गर्ने अवसर पाइन्छ । चितवनबाट ठ्याक्कै पारी पट्टि ठाउँ ठाउँमा अशोक स्तम्भ र बौद्ध स्थलहरु रहेका कारण यता चितवन तिर पनि खण्डहर भएर पुरिएर रहेका त्यस्ता केही स्थलहरु छन् कि भन्ने लाग्न थालेको चितवन बौद्ध अनुशन्धान केन्द्रका संयोजक विजय सुवेदी बताउँछन् ।
केन्द्रका सदस्य रहेका सामाजिक अध्ययता डिआर पोखरेल चितवन र बिहारको रामनगर क्षेत्र ऐतिहासिक रुपमा निकट स्थलहरु रहेको तर अहिलेको समयमा यस बारेमा खासै बुझ्ने काम नभएको बताउँछन् । त्यसै गरी यी क्षेत्रका बासिन्दाबीच सम्बन्ध बढाउन सके यसले हाम्रो ज्ञानको दायरा फराकिलो पार्ने पोखरेलले बताए । चितवन जिल्ला समनवय समितिका संयोजक नारायणप्रसाद अधिकारी गान्धी जनताका लागि लडेका तर सरकारमा नगएका जनसेवक राजनेता भएको बताउँछन् । यस्ता विश्व विख्यात गान्धीका बारेमा बुभ्mन सकिने आश्रम र संग्राहालय चितवनबाट नजिकै हुनु ज्यादै खुसीको कुरा रहेको उनले बताए ।
भिखना ठोरी या नरकटियागञ्ज क्षेत्र सस्तो किनमेलका लागि मात्रै हैन गहकिलो ज्ञान क्षेत्र पनि हुन् भन्ने हेक्का नेपालीले राख्नु पर्ने उनले बताए । केही ज्ञान लिन चाहनेहरुका लागि नेपाल नजिकका यी बिहारी गाउँ वस्ती महत्वपूर्ण भ्रमण स्थल रहेको अधिकारीलाई लागेको छ । यी ठाउँमा जनस्तरमा सम्बन्ध बढाउँदै लैजानु पर्ने उनी बताउँछन् । बिहारका बासिन्दाले घुम्न रुचाउने अनेकौं पर्यटकीय स्थल चितवनमा छन् । त्यसैले भ्रमणको माध्यमबाट सम्बन्ध कायम राख्द दुवै तर्फबा बासिन्दा लाभान्वित हुने उनले देखेका छन् ।
(लेखक पौडेल कान्तिपुर दैनिकका उपसम्पादक हुन् ।) 
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट