नारायणगढ, २३ माघ ।
दिउँसो खाजा खाने छुट्टी सकिएपछि विश्वप्रकाश मावि भरतपुर-१५ मङ्गलपुरका विद्यार्थी सरासर कक्षा कोठामा प्रवेश गरे । अरु कक्षाका विद्यार्थी नियमित पढाइमा लागे पनि कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी भने पुनः विद्यालयको चउर मै निस्किए ।कक्षागत हिसाबले प्रार्थना सभामा झैँ लाइन लागेर उभिएका विद्यार्थीलाई बालपत्रिका मुना र साहित्यिक पत्रिका मधुपर्क उपलब्ध गराइयो । मुना र मधुपर्क उपहार पाएका विद्यार्थी खुसी देखिए ।
भरतपुर-५ नारायणपुर निवासी सामाजिक व्यक्तित्व चन्द्रमा पोखरेलले उक्त विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत करिव ४०० जना विद्यार्थीका लागि मुना र मधुपर्क उपलब्ध गराएकी हुन् । जेठो छोरा सुनिल र कान्छो सुबेशको जन्मदिनको अवसर पारेर आमा चन्द्रमाले यी पठनीय सामग्री विद्यार्थीलाई उपलब्ध गराएकी हुन् । चन्द्रमाका जेठो छोरा सुनिल बुवा हरिप्रसादसँगै स्विजरल्याण्डमा बसोबास गर्छन् भने कान्छो छोरा सुबेश अस्ट्रेलियामा छन् । पारिवारिक सल्लाह अनुसार छोराहरूको जन्मोत्सवमा चन्द्रमाले ज्ञानबर्धक सामग्री विद्यार्थीलाई उपलब्ध गराएको बताइन् । चन्द्रमाले यस अगाडि पनि जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका अवसरमा न्यानो कपडा वितरण, शैक्षिक सामग्री वितरण, खाद्यान्न तथा आर्थिक सहयोगलगायतका विभिन्न सामाजिक एवम् परोपकारी काम गर्दै आएकी छन् ।
विद्यालयका प्रधानाध्यापक जयकृष्ण रिजालले यी ज्ञानबर्धक पत्रिकामार्फत विद्यार्थीले धेरै कुरा सिक्ने र यसको सहि सदुपयोग गर्ने विश्वास व्यक्त गरे । ज्ञान बाँढ्ने काममा आफ्नो विद्यालय छनोट गरेकोमा प्रधानाध्यापक रिजालले चन्द्रमालाई आभार व्यक्त गर्दै मायाको चिनोस्वरुप डाक्टर कमल लामिछाने अन्तर्दृष्टि पुस्तक उपलब्ध गराए ।
गोरखापत्र दैनिकका चितवन प्रतिनिधि एवम् लेखक वसन्त पराजुलीले विद्यार्थीलाई अतिरिक्त पुस्तक अध्ययनमा निरन्तर लागिरहन आग्रह गरे । पठन संस्कारका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीलाई पाठ्यक्रम बाहेकका पुस्तकले सिकाइमा सहजीकरण हुने बताए । मुना, मधुपर्क जस्ता पत्रपत्रिका एवम् अतिरिक्त पुस्तक पढ्ने बानीले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने पनि सापकोटाले बताए । वितरण कार्यक्रममा गजल मञ्च चितवनका उपाध्यक्ष रामकृष्ण पौडेल अनायास पनि सहभागी थिए । शिक्षिका रामकला कोइरालाले विद्यार्थीको हातमा पठनीय सामग्री पुगेकोमा खुसी व्यक्त गर्दै यसले विद्यार्थीलाई सिर्जनशील बनाउने धारणा राखिन् । सहयोगी दाता चन्द्रमा पोखरेलले विद्यार्थीका लागि उज्यालो बाँढ्ने काममा सहभागी हुन पाउँदा ठूलो खुसी मिलेको बताइन् ।





