अर्किडका विद्यार्थीले बनाए पुस्तक, सुनाए शिक्षक र साथीलाई

भरतपुर, १९ माघ ।
हातमा आफैद्वारा लेखिएको `नमुना पुस्तक´ लिएर पालो कुरेर बसेका थुप्रै विद्यार्थीको बीचबाट जब इप्सु न्यौपानेले कार्यक्रम उद्घोषकको रूपमा सहपाठी ग्रेसी काफ्लेको नाम लिइन्, ग्रेसी निर्धक्क मञ्चमा गएर आफ्नो पुस्तकबाट कविता वाचन गर्न लागिन् । ग्रेसीको कविता सुनेर उनका साथीहरू ताली पिट्न थाले । दर्शकदीर्घामा विशिष्ट अतिथिका रूपमा आमन्त्रित चर्चित गजलकार पुष्प अधिकारी अन्जलि मन्त्रमुग्ध हुँदै विद्यार्थीसँगै ताली बजाउन थाले । कार्यक्रम झनै रोमाञ्चक हुन थाल्यो ।

हुन त विद्यालयको यो नियमित कार्यक्रम थियो । त्यो पनि सानासाना विद्यार्थीहरूको । यो कार्यक्रमको विशेषता के थियो भने महिनौँ अध्ययन गरी अभ्यासमा जुटेर आफैद्वारा सिर्जना गरेका कृति सबैका अगाडि बाचन गर्नु । विद्यार्थीले साहित्यका भिन्नभिन्न विधामा कृति सिर्जना गरेका थिए । करिव १० देखि १४ वर्ष उमेर समूहका कक्षा ५ देखि ८ सम्मका कलिला विद्यार्थीको प्रस्तुति लोभलाग्दो देखिएको थियो ।विद्यार्थीहरू नै कार्यक्रम सञ्चालक थिए । गजलकार अञ्जलीको लागि यो फरक अनुभव रहेको थियो । अर्का विशिष्ट अतिथि लेखराम सापकोटाको बुझाइमा प्रतिभाको खोजी र पठन संस्कृतिको विकासमा यसप्रकारका कार्यक्रम आवश्यक छन् ।

अर्किड मावि भरतपुरद्वारा आयोजित `कफि हाउस´ कार्यक्रमको दोस्रो शृङ्खलामा विद्यार्थीले आफ्ना कृति सार्वजनिक गर्दै साथीहरूलाई सुनाएका छन् । `हात हातमा पुस्तक र घर घरमा पुस्तकालय´ भन्ने सोचका साथ पठन, लेखन र सिर्जनाको त्रिकोणात्मक सम्बन्धलाई मुर्तरुप दिन यसप्रकारको कार्यक्रम गरिएको शिक्षिका संगीता ढकालले बताइन् । कार्यक्रम संयोजक मीरा आचार्यका अनुसार विद्यार्थीहरूलाई विभिन्न विधाहरू अध्ययन गर्न लगाई कृति लेखनको अभ्यास गराइएको हो । कृति पढेर त्यस्तै खालका नमुना पुस्तक बनाउन सिकुन् भन्ने उद्देश्य यसमा हुने आचार्यले बताइन् ।

शुक्रवारको यस कार्यक्रममा हेटौंडास्थित नवोदय विद्यालयका नेपाली विभागका प्रमुख एवम साहित्यकार सिएम रिमाल प्रमुख अतिथि थिए । अर्किड स्कुलको यस प्रयासले व्यवस्थित र सिर्जनशील अध्ययन शैलीको विकास हुने उनले आशा प्रकट गरे । विद्यालयका निर्देशक आकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई शिक्षकद्वय चम्कला थापा र विकल्प श्रेष्ठले सहजीकरण गरेका थिए ।

उल्लेख्य मात्रामा अभिभावकको उपस्थिति रहेको कार्यक्रमबाट नवीन प्रज्ञा प्रस्फुटनलाई थप मद्दत पुग्ने आशा विद्यालयले राखेको कार्यक्रम परिकल्पनाकार एवम अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठले बताइन् । हरेक शुक्रबार व्यवहारिक र सिर्जनात्मक कर्ममा विद्यार्थीलाई अभ्यास गराइने योजना अनुरुप यसपटक विद्यार्थीलाई कृति लेखनको अभ्यास गराइएको अर्किड स्कुलका प्रबन्ध निर्देशक गोपाल पराजुलीले बताए । विद्यार्थीले आफूले बनाएका कृति पालैपालो सुनाएका थिए । विद्यार्थी, शिक्षकशिक्षिका र अभिभावकले विद्यार्थीका सिर्जना चाख मानेर सुनेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट