भरतपुर, १९ माघ ।
वैचारिक युवा समाज चितवन (Youth Thinkers’ Society – Chitwan) द्वारा नमुना संयुक्त राष्ट्र संघको सातौं संस्करण (Chitwan Model United Nations) आयोजना हुने भएको छ ।
वैचारिक युवा समाज सन् २०१४ मा स्थापित गैरसरकारी संस्था हो, जसले युवाहरूको सशक्तीकरण, नेतृत्व निर्माण तथा विकासमा टेवा पुर्याउँदै आएको छ । यस संस्थाले विभिन्न पृष्ठभूमिबाट आएका युवाहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको अन्तर्निहित प्रतिभालाई उजागर गर्न मञ्च प्रदान गर्ने गरेको छ ।
नमुना संयुक्त राष्ट्र संघ (मोडेल युनाइटेड नेशन्स) भनेको संयुक्त राष्ट्रको प्रक्रियाहरूको एक अनुकरण गरिने कार्यक्रम हो । यसमा युवाहरू विभिन्न देशहरूका प्रतिनिधि बनेर सहभागी हुने गर्छन् । सहभागी युवाहरू विभिन्न शैक्षिक पृष्ठभूमिबाट भएतापनि उनीहरूले मोडेल युनाइटेड नेशन्स सम्मेलनहरूको लागि तयारी गर्दा विश्वको बारेमा अवगत हुन मौका पाउने वैचारिक युवा समाज चितवनकी अध्यक्ष कामना अम्गाइले बताइन् । `यस कार्यक्रममार्फत विश्वव्यापी रूपमा विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै युवाहरूले बहस गर्दछन् र आफ्ना समितिहरूमा विभिन्न समस्याहरूका सम्भावित समाधानहरू प्रस्तुत गर्दछन् । युवाहरूले इतिहास, भूगोल, सांस्कृतिक, अर्थतन्त्र, कानून र अन्य क्षेत्रहरूमा अन्तरक्रियात्मक ज्ञान प्राप्त गर्दछन् जसले दैनिक जीवनका कार्यहरूमा प्रत्यक्ष र परोक्ष रूपमा प्रभाव पार्दछ ।´, उनले भनिन् ।
विश्वमा भैरहेको समसामयिक विषयमा बहस हुने यस सम्मेलनमा विविध पृष्ठभूमिबाट आएका युवाहरूलाई त्यस विषयमा आफ्नो विचार राख्ने मौका मिल्दछ । तीन दिनसम्म चल्ने यस सम्मेलनले एउटै विषय उपर विविध छलफलको वातावरण सृजना गरि समाधान उपर पनि ध्यानाकर्षण गराउन मद्धत गर्दछ ।
विगत छ वर्षदेखि चितवन मोडेल युनाइटेड नेशन्सको सफलता पछि यस वर्ष पनि वैचारिक युवा समाजले सातौं संस्करणको आयोजना गरेको हो । सन् २०१७ बाट प्रति वर्ष आयोजना हुँदै आएको यो सम्मेलन, यस वर्ष यहि माघ २५,२६ र २७ गते कविलास रिजोर्ट एण्ड फनपार्कमा गरिने तय भएको छ ।
यस मोडेल युनाइटेड नेशन्सबाट युवाहरूको नेतृत्व विकास, कुटनैतिक क्षमता वृद्धि, जस्ता क्षेत्रहरूमा सुधार हुने भएकाले युवा माझ यसको लोकप्रियता बढ्दै गएको र बागमती प्रदेश स्तरीय ‘चितवन मोडेल युनाइटेड नेशन्स’ सफलताका साथ सम्पन्न हुने कुरामा विश्वस्त रहेको आयोजक समूह बताउँछन् ।





