गैँडाकोट, १८ माघ ।
गैँडाकोट इङ्लिस स्कूलमा ९५ वटा विधामा हुने सप्ताहाव्यापी खेल सुरु भएको छ ।
बिहीबार एक समारोहका बीच खेलप्रेमीहरुको उपस्थितिमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
मसाल बालेर उद्घाटन गरिएको प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख अधिकारीले विद्यार्थीको चौतर्फी विकासमा गैँडाकोट इङ्लिस स्कूलले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए । अधिकारीले आगामी दिनमा अझै रचनात्मक काम गर्न विद्यालय टिमलाई सुझाव दिए ।
यसका लागि नगरले पनि सहयोग गर्ने उनको भनाई छ । साथै उनले विद्यार्थीलाई खेलसँगै पढाइलाई पनि निरन्तरता दिन आग्रह गरे । भविष्यका देशका उत्कृष्ट खेलाडी विद्यालयमा नै रहेको बताउँदै यसको पहिचान गरी सोही अनुरुप कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
गैँडाकोट इङ्लिस स्कूलका प्राचार्य हीरालाल अर्यालले गैँडाकोट इङ्लिस स्कूल गैँडाकोटको समग्र शिक्षाको विकासमा एउटा कोशेढुङ्गाको रुपमा स्थापित हुनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको बताए ।
शिक्षाको क्षेत्रमा कक्षा ५ सम्म निःशुल्क शिक्षालगायत गैँडाकोट नगरपालिकाले गरेको कामको प्रशंसा गर्दै उनले नगर प्रमुखको कदम स्वागत योग्य रहेको बताए । गैँडाकोट नगरको शिक्षा क्षेत्रको विकास गर्न आफ्नो विद्यालयले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।
गैँडाकोट खेलकुद विकास समितिका अध्यक्ष एवं नगर उपाध्यक्ष लक्ष्मण कार्कीले विद्यालयमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ९५ वटा विधामा विविध खेल सञ्चालन गरिने विद्यालयका शिक्षक जीवन दवाडीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत २३ गते अभिभावकका लागि भाग्यको खेल, भूपु विद्यार्थी र शिक्षकको पनि खेल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै मिनि म्यारथन ५ किलो मिटरको रहने छ । जसमा विद्यार्थी, अभिभावक, शिक्षकको छुट्टाछुट्टै हुने दवाडीले बताए ।
प्रतियोगिताको अन्तिम दिन अर्थात २४ गते अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । जसमा नवलपुर जिल्ला भरिका २४ वटा विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार र दोस्रो पुरस्कार १० हजार रहेको छ ।
प्रतियोगितामा कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरु सदनबीच प्रतिस्पर्धा गर्ने छन् भने कक्षा ११ र १२ का विद्यार्थी सेक्सनबीच प्रतिस्पर्धा गर्ने छन् । यसअघि कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीबीचको प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् ।
विद्यालयका सहायक प्राचार्य नवराज कंडेलले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक प्रतिमा सिलवाल र सहजीकरण विद्यालयका नेपाली शिक्षक विष्णुमाया पन्थीले गरेकी थिइन् ।





