मकवानपुर, १८ माघ ।
बागमती प्रदेश सरकारले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पहिलोपटक बायोमेडिकल वर्कसप स्थापना गरेको छ । वर्कसप बिहीवारदेखि सञ्चालनमा आएको हो ।
अस्पतालहरुमा प्रयोग हुने स्वास्थ्य उपकरण तथा सामग्रीको मर्मत र गुणस्तर जाँच गर्ने वर्कसपकाे
स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार उद्घाटन गरेका हुन् । सरकारी अस्पतालका ल्याब उपकरण छिट्टै बिग्रने गरेको चिन्ता व्यक्त गर्दै वर्कसपले यसमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
वर्कसप स्थापनामा निग साइमन इन्स्टिच्युटले ७१ लाख रुपैयाँको सहयोग गरेको छ । उक्त संस्थाले अबका ५ वर्षसम्म नियमित सहजीकरणसमेत गर्नेछ । यसअघि गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि यस्तै वर्कसप स्थापना भइसकेका छन् ।
बागमती प्रदेशका अस्पतालहरूमा अब स्वास्थ्य उपकरण तथा सामग्री सम्बन्धी समस्या कम हुने अपेक्षा गरिएको छ ।





