भरतपुर, १४ पुस ।
कवि अञ्जान प्रदीपको एकल कवितावाचन गरिएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार पसल परिसरमा कवि प्रदीपको कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कवि प्रदीपले १२ वटा कविता प्रस्तुत गरे । कार्यक्रमको सुरुवातमा सुसाइड नोट शीर्षकको कविता सुनाएका उनले त्यसपछि कुण्डली, आविष्कार, हतकडी र मलामी शीर्षकका कविता प्रस्तुत गरे । दोस्रो चरणमा उनले इन्द्रेणी आकाशदेखि बाकससम्म, स्याण्डग्लास सृष्टिको काउन्टडाउन, म एक झरी हिँडिरहेछु, काँडा, तिमी निदाइरहेका छौँ, डायरीको च्यातिएको पानाबाट र सम्मोहन शीर्षकका कविता सुनाए । कार्यक्रममा परिवेश मुन्छेले प्रदीपको `चोरी´ शीर्षकको कविता सुनाएका थिए ।
कार्यक्रममा उदय अधिकारी, रमेश प्रभात र विपिन पाठकले कवि प्रदीपका कविताका बारेमा बोलेका थिए । रङ्गमञ्च र कवितामा प्रदीपको उपस्थिति समानान्तर र लोभलाग्दो भएको उदय अधिकारीले बताए । सम्पूर्ण किताबले व्यवसायसँगसँगै स्रस्टालाई मञ्च प्रदान गरेर सिर्जनालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको रमेश प्रभातले बताए । अर्का कवि विपिन पाठकले नाटकमा सक्रियताका साथ लागेका प्रदीप कवितामा पनि जम्दै गएको बताए । कवि प्रदीप पहिलोपटक एकल कविता वाचनमा उभिएका हुन् ।





