काठमाडौँ, १३ पुस ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको बताए ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारी साधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।
तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षार्थीको प्रदर्शनका क्रममा घटेको घटना छानबिनका लागि सरकारले छानबिन समिति गठबन गरेको छ ।
घटनामा दुईजना युवकको मृत्यु भएको छ । सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल सदस्य रहेको छानबिन समिति गठन गरेको हो।
समितिलाई ७ दिनभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् ।
बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन् । उनले घटनामा मानिसहरूको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद भएको बताइन् ।





