भरतपुर, ७ पुस ।
कवि रेशम विरहीको कवितासङ्ग्रह `प्रतिरोधको लय´ विमोचन गरिएको छ । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, कवि भूपिन र कृतिकार विरहीले कृति विमोचन गरेका हुन् ।
विमोचनपछि कृतिको समीक्षा गर्दै कवि भूपिनले क्यान्सर आक्रमणपछि कवि विरही थप सिर्जनशील बनेको बताए । `चोटले मानिसलाई सिर्जनशील बनाउँछ । जगदीश घिमिरे जस्तै ।´भूपिनले भने – `मानिस चेतनले कम र अवचेतनले बढी व्यवहार गर्छ, विरही दाइ बिरामी भएपछि अवचेतमा झन् खारिनु भयो । प्रतिरोधको लय त्यसैको उपज हो ।´
अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा पोषराज पौडेल र सूर्यप्रसाद लाकोजूले शुभकामना मन्तव्य राखेका थिए । समूहका सदस्य उदय अधिकारीले स्वागत मन्तव्य राख्दै कवि विरहीको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले विरहीको समग्र लेखनको चर्चा गरेका थिए । कार्यक्रममा कवि विरहीले सङ्ग्रहबाट ५ वटा कविता वाचन गरेका थिए ।
प्रतिरोधको लय विरहीको तेह्रौं कृति हो । इन्डिगो इङ्कले प्रकाशन गरेको कृतिको मूल्य ४४९ छ ।





