रमेश प्रभात
उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।
कवि रेशम विरहीको काव्ययात्रा
वि.सं. २००९ साल मङ्सिर १ गते गोरखाको हर्मीमा पर्ने डाँडागोब्रे गाउँमा जन्मिएका रेशमराज घिमिरे नेपाली साहित्यका क्षेत्रमा रेशम विरहीका नामले सुपरिचित छन् । उनी हाल भरतपुर महानगरपालिका वडा नम्बर १६ पश्चिम रामपुरमा घर स्थायी रुपमा बसोबास गर्छन् भने अस्थायी रुपमा स्वयम्भु काठमाडौँमा पनि बस्छन् । उनी एक कुशल कवि, पत्रकार, निबन्धकार एवम् उपन्यासकार व्यक्तित्व पनि हुन् । त्यस्तै उनी सरल र सहज भाषाशैलीमा साहित्य लेख्ने जनपक्षीय लेखक हुन् । उनका रचनामा देशमा ठूला ठूला परिवर्तन आए पनि जनताले परिवर्तनको आभास गर्न नसकेको गुनासो पाइन्छ । उनी देश र माटोप्रति अटुट आस्था र माया गर्ने प्रगतिवादी साहित्यकार हुन् ।
कवि रेशम विरहीको औपचारिक काव्ययात्रा वि.सं. २०२८ सालमा ‘उकालो’ साप्ताहिक पत्रिकामा ‘उकालो तिमी किन गीत गाउँदैनौ र ?’ शीर्षकको कविता छपाएर विधिवत् रूपमा सुरु भएको हो । हालसम्म उनका ‘मुलाको बोक्रा र आलीमुनिको झ्याउँकिरी’ (२०३५), ‘भित्ताको रङ्ग’ (२०५६), ‘मङ्गली गुप्ताको पान’ (२०६०), ‘सुन्दरबस्ती’ (२०६५), ‘थालथालमा सपना’ (२०६९), ‘तुरुप’ (२०७४), सातौँ बादशाहको कोट (२०७७) र ‘प्रतिरोधको लय’ (२०८०) गरी आठवटा कविता सङ्ग्रहहरु, दुईवटा निबन्ध, दुईवटा उपन्यास र एउटा पाठ्यपुस्तक गरी तेह्रवटा पुस्तकाकार कृतिहरु प्रकाशित भइसकेका छन् । उनी नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै त्यसभित्रका अन्तर्वस्तुलाई नजिकबाट केलाउने एक कुशल कवि, एक सफल व्यङ्ग्यशिल्पी तथा एक सचेत भाषासेवी पनि हुन् ।
‘प्रतिरोधको लय’ कविता कृतिको छोटो चर्चा
कवि रेशम विरहीको एकहत्तरौँ जन्मदिनको अवसर पारेर इन्डिगो इन्क पब्लिकेशन प्रा.लि., काठमाडौँले प्रकाशित गरेको नवीनतम कविताकृति ‘प्रतिरोधको लय’ (२०८०) कविको जीवनका यावत् असन्तुष्टिहरुको काव्यात्मक प्रतिरुप हो । आफ्नो काव्ययात्राको पाँच दशक पुगेको कुरालाई सङ्केत गर्दै यो सङ्ग्रहभित्र कविले पचासवटा फुटकर कविताहरु सङ्गृहीत गरेका छन् । ‘तादात्म्यता’ कविताबाट सुरु भएको यो कृतिको कविता लहर ‘सप्तगण्डकीको किनारमा माझीले गाएको गीत’ शीर्षकको कवितामा पुगेर विश्राम लिएको पाइन्छ । कूल १२४ पृष्ठसम्म फैलिएको यो कृतिको मूल्य रु. ४४९।– राखिएको छ । यसरी हेर्दा एउटा कविता पढ्न पाठकले जम्मा नौ रुपैयाँ लगानी गरे पुग्छ ।
कृतिभित्र करिब आधा दर्जन समीक्षक तथा विभिन्न संस्थाका प्रमुखहरुको भूमिका थुपारेर कृतिलाई अनावश्यक मोटो बनाउने नेपाली साहित्यको पुरानो परिपाटीलाई त्यागिएको यो कृतिको गातामा कविहरु पुरुषोत्तम सुवेदी र अविनाश श्रेष्ठका छोटा टिप्पणीहरु चाहिँ राखिएका छन् । त्यस्तै भित्री पृष्ठमा कवि विभल निभाको छोटो कवितात्मक सन्देश राखिएको छ, जसले कविताकृतिको ओज अझ बढाएको छ । यसरी कविलाई दिइएका शुभाषीष पनि पाठकका लागि मिठो खुराक बनेको छ ।
‘प्रतिरोधको लय’को भावविधान
विद्रोही चेतनाका कवि रेशम विरहीको ‘प्रतिरोधको लय’ कविताकृति मूलतः विद्रोहात्मक स्वरको प्रकटन नै हो । हुन त यसभित्र विविध भावका कविताहरु समेटिएका छन्, तर पनि यसमा मूल रुपमा राज्यसत्ता, पुरुषसत्ता, धार्मिक सत्ता, आर्थिक रुपले सम्पन्नहरुको रुखो व्यवहार आदिमाथि व्यङ्ग्य गरिएको छ । हेरौँ केही नमुना :
कविले ‘जङ्गल र रात जङ्गल र राज’ कवितामा राज्यसत्तालाई यसरी व्यङ्ग्य गरेका छन् :
सडकको उज्यालोमुनि
अँध्यारा चेहराहरु देख्दैनन्
राज गर्नेहरु
गामतिरको रात र जङ्गलजस्तै
अँध्यारो मनका हुन्छन्
राज गर्नेहरु
उज्यालो बोक्छन् र अँध्यारो पोख्छन्
सत्तामा राज गर्नेहरु ।
(पृष्ठ : ६०)
कवि आफू स्वयम् पुरुष भएर पनि पुरुषसत्ताप्रति पनि आक्रोश पोख्न छोड्दैनन् । हेरौँ उनको ‘रेडलाइटकी सुन्दरी बाई’ कविताका यी पङ्क्तिहरु :
आउनुहोस् साहेब हेर्नुहोस्
मेरा खाटा बसेका घाउहरुका काला टाटा
कसरी म पिचासहरुको
सिकार भएर यो कुण्डमा हेलिएँ
अनि भन्नुहोस्
बेसरम छ यो सुन्दरी बाई
म पनि त पार्थिव सत्यको
एक अंश होइन र साहेब ?
(पृष्ठ : ४६)
आफूलाई ईश्वर घोषणा गर्ने पाखण्डहरुको धार्मिक सत्ताप्रति कविले ‘ठेगाना हराएको ईश्वर कवितामा यसरी भाव पोखेका छन् :
आजकल ऊ ईश्वर भएको छ
उसको प्राणवन्त देह
महासिन्धु रमण गर्दै छ
र खोल्दै छ
ईश्वर बनाएर ईश्वरकै नाममा सपथ खाने
र ईश्वरकै हुर्मत लिएर
सिंहासनमा बस्नेको असली मुखुण्डो ।
धेरै वर्ष भयो ऊ चेतना पाएर
ठेगाना खोज्दै भौँतारिएको
धेरै वर्ष भयो ऊ ईश्वर भएको ।
(पृष्ठ : ११६)
देशमा वलिदानी सपना बोकेर दश वर्षसम्म चलेको महान् जनयुद्धले केही बाठाटाठा नेतालाई सत्तामा पुर्याएको भए पनि बाँकी जनता समस्याको भूमरीमै छन् । अझ सहिदको परिवार त झन् चरम गरिबीको खाडलमा छ भन्ने कुरालाई कविले पहिलो कविता ‘तादात्म्यता’ मा यसरी अभिव्यक्त गरेका छन् :
पिँढीको छेउमा दमको व्यथाले थलिएर
लामोलामो सास तानिरहेकी एउटी वृद्ध महिला
भित्तामा टाँगिएको युद्धका महान् उपलव्धिहरुको
लम्बेतान फेहरिस्तसहितको
अग्रगामी परिवर्तनका नायकहरुको चुनावी पोस्टर
पुछारको एउटा कुनामा सहिदको कात्रोमा बेरिएको
आफ्नो पुत्रको तस्रि हेरिरहेकी
दिवङ्गत छापामारकी आमा
र युवतीका नीरस अनुहारका रेखारेखामा मैले
उनको जिन्दगीको तादात्म्यता खोजेँ
डुब्न लागेको पहेँलो घामजस्तै
दाउराको भारी बोकेर जङ्गलबाट फर्किरहेकी
युवतीको अनुहारमा मैले
भग्न सपनाहरुको कहालीलाग्दो भवितव्य देखेँ ।
(पृष्ठ : १२)
यसरी यसरी हेर्दा कवि रेशम विरहीले ‘प्रतिरोधको लय’ कविता सङ्ग्रह आक्रोशको ज्वालाले लेखिएका कविताहरुको भर्भराउँदो आगो हो । यो आगोको लक्ष्य विभेदका विरुद्ध भएको प्रस्ट देखिन्छ ।
टुङ्ग्याउनीका केही शब्द
कवि रेशम विरहीले ‘प्रतिरोधको लय’ कविताकृतिभित्र ‘चाँद’, ‘यात्रा’, ‘भय’ जस्ता छोटा खालका शीर्षकदेखि लिएर ‘माटोको धमनी’, ‘सत्ताको तखता’, ‘निरमायाको आँखा’, ‘कविताको आराधना’ जस्ता स्मार्ट खालका शीर्षकका कविता पनि राखिएका छन् । यो कृतिमा लामो खालको शीर्षक भएका ‘एउटा स्कुले साथीको पत्र बुढेसकालमा’, ‘घरको भित्तामा झुन्डिएको सहिदको तस्बिर’, ‘सप्तगण्डकीको किनारमा माझीले गाएको गीत’ जस्ता कविता पनि छन् भने ‘डाँफेचरी मलाई तिम्रो पखेटा देऊ’, ‘कुमारी चन्द्रमा म तिमीलाई प्रेम गर्छु’ जस्ता वाक्यात्मक खालका शीर्षक पनि राखिएको पाइन्छ । यही कृतिमा ‘यात्रा’ शीर्षकमा दुईवटा कविताहरु राखिएका छन् । एउटै कृतिमा आएका यस्ता शीर्षकलाई कि त मिलाउनु पथ्र्यो कि त १, २ जस्ता अङ्क दिएर राखेको भए राम्रो हुने थियो ।
समग्रमा ‘प्रतिरोधको लय’ प्रतिरोधी चेतनाले भरिएको काव्यात्मक बान्कीका सुन्दर अभिव्यक्ति हो । यसमा राज्यसत्ता, पुरुषवादी हैकम, धनको घमण्ड, धर्मभिरुता, द्वन्द्वको नाममा सोझा जनतालाई फँसाएर राज गर्ने आजका कुत्सित नेता आदिलाई राम्ररी झापड दिइएको छ । अन्त्यमा कविता कृतिको अन्तिम कविता ‘सप्तगण्डकीको किनारमा माझीले गाएको गीत’ बाट केही शब्द सापटी लिएर बिदा हुन्छु :
म नदी किनारको माझी
म किनारैकिनारको आस्था
म किनारैकिनारको लिङ्ग
म किनारैकिनारको जाती
म किनारैकिनारको भाष्य
म किनारबाटै उठाइरहेछु ज्वार
र गाइरहेछु सप्तगण्डकीको किनारमा बसेर
लयहरुमा लय मिलाउँदै
प्रतिरोधको गीत ।
(पृष्ठ : १२३)





