मकवानपुर, ३ पुस ।
मकवानपुर उद्योग वाणिज्य संघले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनमा सहभागी हुन हेटौंडा आएका अर्थमन्त्री महतलाई मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताले १६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
वर्तमान अवस्थामा लगानी निरुत्साहित भएकोले सरकारले एक अंकको व्याजदर कायम राख्ने राष्ट्रिय नीतिको तर्जुमा गर्नुपर्ने, हेटौंडाको दोश्रो तथा वहुप्रतिक्षित मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य चाँडो सम्पन्न गरी थप उद्योगहरुको स्थापनाको कार्य चालु आर्थिक वर्ष २०८०–८१ भित्र सम्पन्न गर्नुपर्ने, उद्योगमा नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र उद्योगको आन्तरिक सिबिएमार्फत मजदुरले गर्ने दोहोरो मागदाबीलाई एकद्वार प्रणालीमा जानुपर्ने संघले बुझाएकाे माग सहितकाे ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै कोभिड महामारी, सार्वजनिक ऋणको आकार बढ्दै जानु, औद्योगिकीकरण र लगानीको वातावरणको अभाव कायम रहनु, वैदेशिक आयात व्यापारको बृद्धि हुँदै जानु, रुस–युक्रेन युद्ध, सरकार परिवर्तनसँगै सार्वजनिक नीतिहरुको परिवर्तन भइरहनुले आम नागरिक, उद्योगी, व्यवसायीहरुको मनोवल उच्च नहुने भन्दै देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्काल कदम चल्नुपर्ने मउवासंघकाे माग छ ।
यसैगरी क्रसर व्यवसायहरु बिगत केही वर्षदेखि नवीकरण नभएकोले यथाशीघ्र नवीकरण गरी संचालन कार्यमा सहजीकरण गर्नुपर्ने, तेश्रो मुलुकबाट आयात हुने कच्चा पदार्थहरुका ढुवानीलाई पुनः कलकत्ता नै पुर्याउनुपर्ने भएकाले उद्योगीहरुले ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै नेपालस्थित सुख्खा बन्दरगाहमा नै फिर्ता हुनु पर्ने, स्थापना भएका क्रसरजन्य उद्योगहरु कच्चा पदार्थको अभावमा तथा विभिन्न बाहानामा विभिन्न निकायबाट बन्द हुने र खुल्ने अनिश्चितताका अन्त्य गर्दै स्थायीरुपमा सुचारु गर्नुपर्ने माग मउवासंघले राखेको छ ।
ज्ञापनपत्रकाे मागमा भनिएकाे छ ‘उद्योगले लिजमा लिएको सरकारी जग्गामा आफूले बनाउने संरचनाहरुमा वित्तीय सुविधा दिन सम्बन्धित बैंकहरुलाई निर्देशन गर्न केन्द्रीय बैंक तथा उद्योग मन्त्रालयसँग पहल गर्ने काम तुरुन्त प्रारम्भ हुनुपर्ने, हेटौंडाको राप्ती खोलाबाट पश्चिमतर्फ अवस्थित उद्योगहरु संचालनमा बाधा परेको हुँदा सो एरियामा अलग्गै औद्योगिक फिडर कायम गर्नुपर्ने, उद्योगले प्रयोग गर्ने विद्युत लाइनमा जडित क्षमताको आधारमा लिइने डिमाण्ड शुल्क हटाउने र युनिट शुल्कमात्र लिने व्यवस्था गर्नुपर्ने, बदलिँदो आर्थिक परिवेश अनुसार नव–प्रवर्तन एवम् नव–उद्यमलाई प्रोत्साहन, प्रबर्द्धन एवम् व्यवस्थापन गर्न नेपाल सरकारले मकवानपुर उद्योग वाणिज्य संघको पनि सहभागितामा बाग्मती प्रदेश स्तरिय व्यापार इन्क्युबेशन केन्द्रको स्थापनाको लागि पहलको गर्नुपर्छ ।’
वित्तीय संस्थाबाट ऋण लिँदा लगभग शून्य जोखिम भएका अनावश्यक शीर्षकहरु अन्तर्गत पनि बीमा गर्नुपर्ने अनिवार्यताले ऋणको लागत वृद्धि भएको, राष्ट्रिय राजमार्ग बिस्तार गर्दा बिस्थापित हुने घरधनीलाई उचित क्षतिपूर्ति र मुआब्जा तथा व्यवसायीहरुलाई वैकल्पिक योजना मार्फत सम्बोधन गर्नुपर्ने, हेटौँडामै नापतौल कार्यालय स्थापना गर्नुपर्ने र प्रदेशस्तरीय स्वास्थ्य विज्ञान कलेज तथा विश्वविद्यालय स्थापना गर्नुपर्ने माग पनि संघले राखेको छ ।
बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापति ईन्द्रबहादुर बानियाँ, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालसहितकाे उपस्थितिमा अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाइएकाे हाे ।





