मकवानपुर, १ पुस ।
मकवानपुर जिल्ला लिग क्वालिफाईड फुटबल प्रतियोगिताको उपाधि बकैया युवा क्लबले हात पारेको छ ।
शनिबार पिप्ले–क्याम्पा रंगशाला हेटौंडामा भएको फाइनल खेलमा हेटौंडा १२ को पञ्चशिल युबा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै बकैयाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
बकैयाको जितका लागि बकैया युवा क्लबका अभिषेक ब्लोनले २ र छेवंग लामा, सुजन गुरुङले एक एक गोलको योगदान गरे ।
छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधि रक्षाको लागि फाइनल प्रवेश गरेको थियो ।
१२ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट फरवार्ड बकैयाका अभिषेक ब्लोन, वेस्ट डिफेन्डर बकैयाका तारा नेगी, वेस्ट मिडफिल्डर पञ्चशील युवा क्लबका सुकराराज गोले , गोलरक्षकमा बकैयाका सरोज ब्लोन, बेस्ट कोच कृष्णा लो र सर्वाधिक गोलकर्ता खेलाडीमा बकैयाका सुजन गुरुङ घोषित भए ।
फाइनल प्रबेश गरेसँगै मकवानपुर जिल्ला लिगका लागि बकैया युवा क्लब र पञ्चशील युवा क्लब छनोट भएको छ । ती दुबै क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउनेछन् ।
२०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले बताए ।
करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौंडाले सहयाेग रहेकाे थियो ।





