भरतपुर, २६ मंसिर ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा अन्तर्गत प्रधान कार्यालय नारायणगढका सेयर सदस्यहरुको सभा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा मंगलबार नारायणगढस्थित नारायणी कला मन्दिरमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संस्थाका सचिव शारदा शर्मा पौडेलले संचालन गरेकी थिइन् । राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिनप्रतिदिन खस्कँदै गएको र छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारी विकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पारे ।
साधारणसभामा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जन, चितवन उद्योग संघका अध्यक्ष सूर्य न्यौपाने, जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष प्रेमनाथ दुवाडी, सहकारी प्रबर्द्धन शाखा प्रमुख रोजी केसीलगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए भने चितवन चेम्बर अफ कमर्सका गोपाल भट्टराई, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जयलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्धक रामशरण सापकोटा, सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मन्जु भट्ट पाण्डेलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका सेयर सदस्य खगिसरा खरेलले संस्थाप्रतिको आफ्नो धारणा राखेकी थिइन् । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, ज्येष्ठ सेयर सदस्य, बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी गरी २९ जनालाई प्रसंशापत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थागत परिचय दिँदै सदस्यहरुले राखेका जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले जवाफ दिएका थिए ।





