भरतपुर, २४ मंसिर ।
भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल् (प्रोजेक्ट बेस्ड लर्निङ) मेला आयोजना हुने भएको छ । स्कुलको आयोजनामा यही मंसिर २६ गते मंगलबार विद्यालय परिसरमा मेला हुँदै छ ।
स्कुल परिसरमा हुने पिबिएल् मेला चितवनमै पहिलोपटक हुन लागेको स्कुलले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ (परियोजनामा आधारित सिकाई)का क्रममा तयार परेका प्रोजेक्टहरु प्रदर्शन गरिने स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिइन् । सो कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ ।
गत जेठ महिना यता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाई अन्तर्गत विद्यार्थीहरुले विभिन्न सिप सिकेका छन् । जसमध्ये ८४ वटा चुनिएका प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गर्ने प्राचार्य पन्तले बताए ।
स्कुलले अमेरिकन मनोवैज्ञानिक होवार्ड गार्नकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा जोड दिंदै आएको उनको भनाइ थियो । स्कुलले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको कुरा पनि उनले बताए ।
यसरी गरिएको मेलाले सिकाईलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीहरुलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा पनि उनले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका फरक-फरक प्रोजेक्टहरु प्रस्तुत गरिने उनले जानकारी दिए । यो कार्यक्रमलाई शिक्षामा क्रान्तिको रुपमा लिईएको समेत उनको भनाइ छ ।
कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका विद्यार्थीहरूमध्ये सो कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु पूर्णरूपमा सहभागी हुने सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए । मेलामा विद्यार्थीहरुले तयार परेका चिया, विभिन्न परिकारका खाजा, बाटेको धुप बिक्री वितरण गरिने छ ।
त्यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत, रेन डिटेक्टरलगायत सामग्री पनि प्रस्तुत गर्नेछन् ।
पढाइका अतिरिक्त सिकाइलाई अन्य कुरासँग पनि जोड्न सकिन्छ । त्यस्तै शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक मंगलबार बुकफ्री डे हुँदै आएको कुरा पनि जानकारी गराइयो ।





