मकवानपुर, १७ मंसिर ।
मकवानपुर हेटौंडा ६ का हिमाल पौडेल र भीमसेन पौडेलले आफ्नो बुवा र श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति शनिबार प्रदान गरिएको छ ।
हिमालले आफ्नो बुबाको नाममा स्थापना गरेको छात्रवृत्ति ११ कक्षामा अध्ययनरत २ जना छात्रालाई र भीमसेनले स्वर्गीय श्रीमतीको नाममा स्थापना गरेको छात्रवृत्ति विद्यालयमा अध्ययनरत १ जना छात्र र २ जना छात्रालाई प्रदान गरिएको हो ।
हेटौंडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वािर्षक साधाणसभामा उक्त छात्रवृत्ति प्रदान गरिएको हो । संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ ।
त्यसैगरी सञ्चारकर्मी तथा समाजसेवी भीमसेन पौडेलले स्वर्गिय श्रीमती दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ ।
छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त छात्रवृत्ति रकम पौडेलद्वयका आमा कृष्णकुमारी पौडेलले प्रदान गरेकी थिइन् ।





