काठमाडौँ, १० कात्तिक ।
त्रिकोणात्मक टिट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा नेपाललाई हराउँदै युएईले उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा युएईले घरेलु टोलीविरुद्ध ४ विकेटको जित हात पारेको हो । मुख्य प्रशिक्षकको रूपमा मोन्टी देशाईको आगमनपछि नेपालको १६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईले टस जितर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपालले सुरुवातमा आशालाग्दो प्रदर्शन गरेको भएपनि मध्यका ओभरमा स्थिर रहन नसक्दा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनको योगफलमा खुम्चिन पुग्यो ।
नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो । युएईका आयान अफजल खानले आशिफ शेखलाई ७ रनको स्कोरमा आउट गरेपछि पार्टनरसिप तोडिएको थियो । तेस्रो नम्बरमा मैदान पसेका कुशल मल्ललाई पनि अफजल खानले नै सस्तैमा आउट पारे । नेपालका लागि कुशल भुर्तेलले २९ बलमा ५० रन जोडे । उनी जुहुर खानको बलमा आउट भएका थिए । नेपालले ६८ रनको अवस्थामै नेपालले तीन विकेट गुमाइसकेको थियो ।
त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४० रनको साझेदारी गर्दै पारीलाई उकासेका थिए । रोहित १८ र दिपेन्द्र २० रनमा आउट भए । अविजित रहेका करण केसीले २३ रन जोडे । यूएईका आयानले तीन विकेट लिए । अली नास र जहुर खानले पनि समान २-२ विकेट लिए । जुनैद्द सिद्दिकको नाममा एक विकेट रह्यो ।
सानदार जवाफी ब्याटिङ गरेको यूएईले एक बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । २०२२ फेब्रुअरी २२ यता ट्ट्विान्टी अन्तर्राष्ट्रिय फम्र्याटको खेलमा युएईले नेपाललाई पहिलो पटक हराउन सफल भएको हो ।
पारीको सुरुवात नै आक्रमक ब्याटिङबाट गरेको युएईले पहिलो ओभरमा १७ रन बटुलेको थियो । ओपनरद्वय मोहम्मद वासिम र आर्यान्स शर्माले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे । युएईका कप्तान वासिमले २२ बलमा ४५ रन बनाएर गुल्सन झाको शिकार भए । शर्माले २५ रन बनाए । बासिल हमीद २२ र आयान अफजल खान ५ रनमा अविजित रहँदै युएईलाई उपाधि दिलाए ।
नेपालका अभिनाश बोहरा र गुलशन झाले २-२ तथा कुशल मल्लले १ विकेट लिए । फाइनल खेलमा आयान अफजल खान प्लेयर अफ दि म्याच घोषित भए भने शृंखलाकै उत्कृष्ट खेलाडी नेपालका करण केसी रहे ।





