भरतपुर, १२ असोज ।
भरतपुर महानगरपालिका वडा नम्बर- ९ स्थित गुरुकुल माविमा कक्षा- ११ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई अभिमुखिकरण तालिम दिइएको छ । गुरुकुलद्वारा आयोजित उक्त कार्यक्रममा चितवनका युवा व्यवसायी अमर घिमिरेले नेपालमा व्यवसायको भविस्य र त्यसका चुनौतीका बारेमा अभिमुखीकरण तालिम दिएका थिए । अध्ययन तथा रोजगारीका लागि भनेर दिनहुँ युवाशक्ति बिदेश पलायन हुँदा मुलुक बनाउने कालिगढको अभाव भएको बताउँदै युवाशक्तिले मेरो देश आफै बनाउँछु भनेर अठोट गर्नुपर्ने बेला आएको बताए । लगनशील भएर काम गर्दा चुनौतीहरूको सामना गर्न असजिलो नहुने पनि घिमिरेले बताए । 
गुरुकुल माविले स्थापना कालदेखि नै विद्यार्थीलाई व्यवहारिक कक्षा गराउँदै आइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार लामिछानेले यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिने उल्लेख गरे । कार्यक्रम संयोजक सुशील रेग्मीले गुरुकुलले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको बताए ।
शैक्षिक निर्देशक सिर्जन अविरलका अनुसार कलेजले आफ्ना विद्यार्थीहरुलाई वर्षभरि नै नियमितरूपमा यस्ता कार्यक्रमहरु गराइराखेको र आफ्नो शैक्षिक क्यालेन्डरमा समेत समावेश गरेको जानकारी गराए ।





