भरतपुर, १२ असोज
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले विद्यार्थीहरुको अप्ठ्यारोको साथी नेविसंघ भएको बताएका छन् । कलेज जीवनमा आइपर्ने सबै समस्याको विकल्प र समाधान भनेकै नेविसंघ रहेको बताउँदै विद्यार्थी कालको सारथि नेविसंघ भएको बताए ।
नेपाल विद्यार्थी संगठन नेपाल पोलिटेक्निक इन्स्टिच्युड (एनपिआइ)ले भरतपुर-११ भोजाडमा अवस्थित एनपिआई कलेजमा आयोजना गरेको दशैँ तिहार शुभकामना आदनप्रदान तथा इकाई अधिवेशनमा बोल्दै सभापति खनालले समाज रुपान्तरण र शैक्षिक अवस्था सुधारको लागि नेविसंघको विकल्प नभएको बताए ।
२०४४/४५ सालमा आफूले वीरेन्द्र क्याम्पसमा आइएस्सी पढ्दाताकाको समयलाई स्मरण गर्दै खनालले भने – ‘हरेक विद्यार्थीको सारथि भनेकै नेविसंघ हो । त्यसैले म पनि नेविसंघमा आवद्ध भएरै समाज रुपान्तरमा काम गर्दै आजको अवस्थामा सामाजिक काम गर्ने अवसर पाएको हुँ, अब तपाईंहरुको पालो हो ।’
शिक्षा क्षेत्रको समस्या उजागर गरि समाधान गर्न नेपाली काँग्रेस र यसका भातृ संगठनहरुको आवश्यकता अपरिहार्य रहेको बताउँदै खनालले भने- ‘प्लसटुको २ वर्षे कोर्स सक्न साढे दुई वर्ष र चारवर्षे ब्याचलर सक्न पाँचवर्ष लाग्छ । त्यसैले अहिलेको समय भनेको शैक्षिक आन्दोलन हो ।’
देशको शिक्षा नीतिले समयमै कक्षा सञ्चालन र समयमै परीक्षा लिन सकिने हो भने विद्यार्थीको समय वचत र भविष्यको सुनिश्चित हुने कुरालाई इङ्गित गर्दै खनालले भने ‘तपाईंहरु हामीलाई झक्झक्याउन आउनुस्, म सरकार झक्झक्याउन तपाईंहरुलाई सहयोग गर्छु ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले चितवन जिल्लामा लामो समयदेखि संगठनमा देखा परेको आन्तरिक समस्या मिलाएर नेविसंघ अगाडि बढ्नुपर्ने धारणा राखे । विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा उदाएका खनालले हरेक विद्यार्थीको समस्या समाधानमा नेविसंघले मात्रै प्रष्ट भिजन र अडान लिएर अगाडि बढिरहेको जिकिर गरे । उनले भने -‘नेविसंघ आफू र काँग्रेस निकट मात्र नभई हरेक विद्यार्थीको हकहितका लागि सदैब साथ रहने संगठन हो । त्यसैले नेविसंघको साथमा तपाईंहरु सबै उभिनु भयो भने मात्रै संगठन बलियो हुन्छ र आवाज बुलन्द पार्न सहज हुन्छ ।





