गैंडाकोट, १२ असोज ।
गैंडाकोटस्थित मौलाकाली केवलकार परिसरमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा शुभारम्भ भएको छ । बिहीबार एक समारोहका बीच केवलकार परिसरमा एटीएम सेवाको उद्घाटन गरिएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी र मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले संयुक्तरुपमा पानसमा दियो बाली एटीएम सेवाको उद्घाटन गरेका हुन् । 
सो अवसरमा बोल्दै वडाध्यक्ष रेग्मीले यस वडाको पहिलो एटीएमका रुपमा ग्लोबल आइएमई बैंकले सेवा शुभारम्भ गरेकोमा बैंक र मौलाकाली केवलकार दुबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे । केवलकारका स्टेशन मेनेजर पौडेलले नेपालको नम्बर वन बैंक बन्न सफल ग्लोबल आइएमई बैंकले आफ्नो परिसरमा एटीएम सेवा शुरु गरेकोमा यसबाट धेरै सेवाग्राही लाभान्वित हुने बताउँदै बैंकलाई अझै गुणस्तरीय सेवाका लागि शुभकामना व्यक्त गरे ।
सो अवसरमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले बैंकका सेवाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बैंकका क्लस्टर प्रमुख बिदुर ज्ञवाली, गैंडाकोट शाखा प्रमुख किसन श्रेष्ठ, केवलकारका प्रोजेक्ट मेनेजर विजय पौडेललगायतको उपस्थिति थियो ।





