भरतपुर, १० असोज ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गरिने बताएका छन् ।
उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताएका हुन् । एकहप्ता अगाडि छड्के अनुगमनमा आएका मन्त्री बस्नेतले जनताको प्रत्यक्ष समस्या सुनेको र यहाँका चिकित्सकका गुनासा सुनेर गएको स्मरण गरे । ‘नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने गरेका छन् तर नेपालका नेताहरु उपचारका लागि विदेसिन्छन्´ अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको गरेको बताउँदै उनले भने, `अहिले भिभिआइपी व्यक्तिहरुको उपचारको लागि वीर अस्पतालमा १७ जनाको विशेषज्ञ टोली गठन गरिएको छ । यसबाट जनताहरु खुशी छन् ।’
स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने भनाईलाई प्रष्ट्याउँदै बस्नेतले भने ‘स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ ।’
उपचारको अभावमा कोही नेपालीले ज्यान गुमाउनु नपर्ने गरी सरकारले काम गरिरहेको बताउँदै मन्त्री बस्नेतले भने ‘उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको छ ।’ शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उनले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताए।
मन्त्री बस्नेतले भने, ‘विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालमा आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ । यदि उपचारमा कतै कमजोरी भए सुराकीको शैलीमा मलाई खबर गर्नुहोला ।’ गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने तर्फ उनको इसारा थियो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न नहतारिन इङ्गित गर्दै बस्नेतले भने ‘तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस् । प्रतिष्ठान बनाउन त्यसपछि सोचौंला। तपाईंहरुको कामबाट प्रभावित भएपछि सरकारबाट बजेटको अभाव हुँदैन ।’ २२ वर्ष अगाडि नेपालमा ३३ हजार स्वास्थ्यकर्मी रहेकोमा अहिले ३१ हजारमात्रै रहेको स्मरण गर्दै बस्नेतले भने ‘सरकारले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने काम थालेको छ । एकातिर स्वास्थ्य संस्थाहरु बढ्दैजाने र अर्कोतर्फ स्वास्थ्यकर्मी घट्दै जाने दैनिकीले हामीलाई असहज बनाइरहेको छ ।’
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि सबै क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताए । अस्पतालमा सुशासन, पारदर्शीता र जवाफदेहिता हुनसके जनगुनासो कम हुँदै जाने उनको तर्क थियो । उनले भने ‘हिजो सेवा सुधारको माग बोकेर म धेरैपटक अस्पताल आएको छु, तर आज म दिने ठाउँमा छु मसँग माग्न आउनुस् । कानून सम्बत हुने कुरामा म पछि हट्ने छैन ।’
पछिल्लो समय राज्यप्रति वितृष्णा जगाउन चिकित्सकमाथि आक्रमण हुने गरेको छ, भन्ने सन्दर्भको उजागर गर्दै मन्त्री जोशीले भने , ‘छिटपुट घटनाले स्वास्थ्य संस्थामा अराजकता बढ्न थाल्यो । आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडि बढ्नुस् तपाईंहरुको साथमा सरकार छ । ‘
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले गुणस्तरीय उपचारमा मेडिकल डाइरेक्टरदेखि सबै डाक्टरहरुको ध्यान जानुपर्ने बताए । उनले भने ‘यहाँ आएका बिरामी डिस्चार्ज गर्नेमात्रै होइन, यहिँ निको भएर जाने वातावरण बनाउनु पर्यो ।’ कम्सेकम यस अस्पतालमा आएका बिरामीहरु रिफर भएर नीजि अस्पतालहरुमा जान नहुनेतर्फ उनले इङित गरेका थिए ।
अस्पतालको सेवा र प्रभावकारिताको बारेमा उजागर गर्दै नेता खनालले भने ‘ हामी विरोधकै लागि मात्र आलोचना गरिरहेका छौं, राम्रा कामको प्रशंसा पनि गर्ने बानी बसालौँ । ‘
समारोहमा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पतालका चिकित्सक कर्मचारीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही अवसरमा बुधबार बिहान भरतपुरको चौबीसकोठीदेखि अस्पताल प्राङ्गणसम्म म्याराथुन दौड आयोजना गरिएको थियो ।





