‘भीडमा हराएको मान्छे’ (कवितासङ्ग्रह – २०७१) को प्रकाशनपछि ‘को हो त्यो मान्छे?’ (दोस्रो कवितासङ्ग्रह -२०८०) कृति लिएर देखापरेका कवि हुन् – एल.बी. क्षत्री । उनको पहिलो कृतिको शीर्षक केन्द्र ‘मान्छे’ थियो भने दोस्रो कृतिको शीर्षक पनि ‘मान्छे’ नै छ । यस अर्थमा उनलाई मान्छेप्रति गहन चिन्तन र धारणा राख्ने विचारवादी कवि हुन् भन्न कुनै दुविधा नहोला |
आश्विन ६ गते नारायणी नदीको तटमा स्थित नारायणी रिसोर्टमा उनकै कविता कृतिको ‘गृह विमोचन’ भनी अन्तरक्रिया चलेको थियो । अन्तरक्रिया नै त के भनूँ दुई जना कविताका पारखीबाट कवि एल.बी. को बारेमा राम्रै बहस भयो । सर्वप्रथम वहसकर्ता भूपिनले एल.बी. का कविताका विशेषता दर्शाउँदै भने – “उनका कवितामा हास्यव्यङ्ग्य चेतना प्रबल देखा पर्छ साथै उहाँमा दार्शनिक चेतना पनि पाइन्छ ।” उक्त तथ्य वाचित कविताबाटै पनि पुष्टि भएको थियो । उनका अधिकांश कवितामा जीवनप्रतिका दृष्टिकोणहरू मुखरित छन् । एल.बी. यथार्थमा आत्मविश्वासका खानी हुन् तर उनैले कविता कोर्छु भनेर विरोधाभासी कुरा गर्छन् । आत्मविश्वासको कमी झल्काउँछन् । अब उनले कविता कोर्छु भन्ने धारणाको अन्त्य गर्नुपर्छ ।
त्यस्तै अर्का कविताका प्रखर वहसकर्ता महेश पौड्यालले पनि एल.बी. का कवितामा व्यङ्ग्यचेतना पाइन्छ भन्ने तथ्यप्रति समर्थन जनाउँदै कविता कोर्ने भ्रमजाल खारेज हुनुपर्छ भने । कविताको सैद्धान्तिक परिभाषाभित्र कवि अल्झिनुहुँदैन । कवि एल.बी. का आफ्नै शैली र सीमा छन् । उनमा कविताप्रति कति अगाध निष्ठा र समर्पित भाव छ । उनी साहित्यका गहन अध्येता पनि हुन् । अध्ययनको गहिरो पृष्ठभूमि र अनुभवको बृहत् क्षितिजबाटै उनी कविता लेखनको प्रारम्भ गर्छन् । उनको प्रमुख विशेषता भनेको सत्यतथ्यको उत्खनन र स्थापन हो । अहिले सत्यको खडेरी परेको बेला उनी सत्यप्रतिका निष्ठावान् कवि हुन् त्यस्तै उनी प्रकृतिप्रेमी पनि छन् । विशेषतः लेख्छु भनेको कुरा लेखेरै छाड्छन् । कथनप्रतिको हक्की स्वभाव उनको मूल प्रवृत्ति हो । दुवै जना वहसकर्ताको मुख्य सार यही हो ।
दुवै जनाको वहसमन्तव्यप्रति मेरो पनि ध्यान आकृष्ट रह्यो । दुवैले सङ्केतमा यात्रा जारी राखे गन्तव्यमा पुग्न सकिन्छ भने । दुवैले उनको कवित्वका यथेष्ट विशेषता बखाने तर स्पष्टसँग खुलाएर शुभेच्छाको सुभाव प्रस्तुत गरेनन् । म उनको हितैषी र शुभचिन्तक हुँ । उनी मप्रति विशेष स्नेह राख्ने हुँदा म निसङ्कोच समीक्षाको स्पष्ट धारणा राख्न खोज्दैछ, त्यो मेरो समीक्षात्मक कर्तव्य र धर्म पनि हो । सारमा उनी सत्यनिष्ठ विचारवादी कवि हुन् । विचार पनि कविता हो तर विचार मात्र कविता होइन । कविताभित्र तर्कको पनि आवश्यकता पर्छ तर तर्कको प्रस्तुतिमात्र पनि कविता होइन । कविता व्याख्यात्मक पनि हुँदैन तर व्याख्येयचाहिँ हुन्छ । त्यो कलात्मकताले सिँगारिएको सन्देशमूलक हुन्छ । कवि स्वभावैले सत्यको उत्खनन र स्थापन गर्ने साहस भर्छ तर शास्त्रमैं भनिएको छ – सत्यम् व्रूयात् प्रियम् व्रूयात् नव्रूयात् सत्यमप्रियम् । उनी आफ्ना कवितामा निर्धक्कसँग सत्यता, विचार र तर्कलाई राख्दछन् । त्यतिले मात्र कविको कवित्व धर्म पूरा हुँदैन । पाठक वा भावकको मनमा झन्न र सन्न हुने गरी राख्न सक्नुपर्छ । त्यसरी राख्न सक्ने भनेको शैली हो । त्यस्तो शैली दुई–चार दिनको चिन्तन र अभ्यासले प्राप्त हुनसक्ने कुरा वर्षौंदेखिको निरन्तरताको प्रयासले मात्र फलीभूत हुने तथ्य हो । अन्तक्र्रिया भने पनि त्यस कार्यक्रममा त्यस्तो भन्ने अवसर प्राप्त भएन । लिखितरूपमै यो सार्वजनिक होस् भन्ने हेतुले यो सङ्क्षिप्त प्रतिक्रिया जनाएको छु ।
जो मस्तिष्क प्रबल छन् उनले पद्यकविताभन्दा गद्यकविता नै अधिक मन पराउँछन् किनभने त्यसमा अनुभव र विचारको सम्प्रेषण गर्ने अवसर मिल्दछ तर जो भावनाप्रधान व्यक्ति छन् उनले गद्यकविताभन्दा पद्यकविता अधिक मन पराउँछन् । गद्यकविता बौद्धिक भावनाको उपज हो तसर्थ त्यसमा अधिक सामाजिक यथार्थवादी विचार प्रकट हुन्छ तर पद्यकविता अलङ्कृत भावनाको उपज हो तसर्थ त्यसमा आदर्शवादी भावना प्रस्तुत हुन्छ । कविताको प्रमुख आधार भनेको शब्द नै हो ।
कविताको पहिचान र भेदबारे निम्नलिखित पङ्क्तिमा ‘कवित्व–रक्षक’ शीषक राखी कविता दृष्टि प्रस्तुत गर्दछु :
कविताको भेद हुने गर्छ गर्छ गद्यपद्य विभाजन
गद्य होस् अथवा पद्य हुन्छ कवित्व लक्षण ।
भावनाधिक्य होस् पद्य विचारमय गद्य होस्
झन्न सन्न गराएर मनमोहितमा परोस् ।।
(१)
गद्यले गर्छ आधिक्य बुद्धिसँग घनिष्टता
पद्यको हुन्छ सम्बन्ध दिलसँगै विशिष्टता ।
जमाना त छ यो आज पद्य होइन गद्यकै
गद्य होस् अथवा पद्य महत्त्व हो कवित्वकै ।।
(२)
को हो त्यो कविको मान्छ कवित्वभित्र चिन्न छ
समाजमा छ के स्थान बुझेरै पनि बिन्नु छ ।
केन्द्रमा नै भएकोथ्यो राम्रैसँग विवेचन
भएको छ यहाँ फेरि आजै गृह विमोचन ।।
(३)
एल.बी. को कविता दृष्टि सूक्ष्मतर हुँदैछ नै
खारिँदा खारिँदा पक्कै उज्यालिँदो हुनेछ नै ।
लौह स्वभावले गर्दा हुन्छ कडा समीक्षक
आफ्नो प्रवृत्तिले बन्छ आफ्नो कवित्व रक्षक ।।
भरतपुर–१२, चितवन
मो.: ९८४५११००३०





