भरतपुर, ९ असोज ।
कवि गणेश श्रमणकाे कवितासङ्ग्रह `आगाे लिएर गाउँगाउँमा´ प्रकाशित हुन लागेकाे छ । असोजको अन्तिम साता बजारमा आउन लागेको यो कृति श्रमणको तेस्रो पुस्तक हो । पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशन गर्दैछ । यसअघि उनका `शब्दक्रान्ति´ (२०६६) कवितासङ्ग्रह र `गुलियो काठमाडौं´ (२०७५) कथासङ्ग्रह प्रकाशित छन् ।
कवि श्रमण ठोस विषयवस्तुलाई अनुभूतिको तरलतामा घोलेर कोमल भावमा कविता लेख्न सिपालु छन् । कवितामा आकर्षण र सम्प्रेष्य भाषा भएका कारण समकालीन कविपुस्ताको समूहबाट आफूलाई पृथक देखाउन सक्षम छन् गणेश श्रमण ।
पर्वत जिल्लाको फलेबास नगरपालिका कुर्घामा जन्मिएका श्रमण त्यहीँको विद्यालयमा पढ्दादेखि नै कविता लेख्न थालेका हुन् । चितवन आएपछि पनि उनले कविता लेखनलाई निरन्तरता दिए । उनी चेतना र विद्रोहमा आधारित भएर सामाजिक विकृति र विसंगतिका विरुद्ध सरल भाषामा कविता लेख्न रुचाउँछन् । विभिन्न पत्रपत्रिकामा नियमित कविता छपाइरहने श्रमण झण्डै आधादर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । कविताको चिन्तन, अध्ययन, विश्लेषणमा रमाउने उनी घुमफिरका क्रममा कविता सिर्जना गर्छन् ।
‘आगो लिएर गाउँगाउँमा’ भन्ने नयाँ कृतिको नाम राखिए पनि कुनै ध्वंसात्मक खालको विषय नसेमेटीएको कवि श्रमणले बताए । `कवितामा आगोलाई चेतनाको विम्वको रुपमा प्रयोग गरिएको छ´, श्रमणले भने । ४ खण्डमा विभाजन गरिएको कृतिमा ६० वटा कविता समावेश गरिएको उनले बताए । कवि श्रमण कविता लेखनसँगै प्राध्यापन पेशामा आवद्ध उनले बालकुमारी मावि नारायणगढ र सूर्यभक्त पतनादेवी मेमोरियल क्याम्पस गैंडाकोटमा प्राध्यापन गर्दछन् ।
भरतपुर- ५ कविडाँडा निवासी श्रमण चितवन साहित्य परिषद्, कविडाँडा साहित्य समाज, नेपाली लेखक संघ चितवनलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।





