सुवेदीको `मनु´लाई पद्मश्री पुरस्कार

भरतपुर, ८ असोज ।
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास `मनु´ले जितेको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले वितरण गर्दै आएको पुरस्कार मनुलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहऱ्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

प्राप्त १८० पुस्तकमध्येबाट छनाैट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची)मा पाँच पुस्तक परेका थिए । यसैगरी पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन् । नेपाली चित्रकलामा पनि उनको योगदान विशिष्ट रहेको छ । गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको राशि जनही तीन लाख रुपैयाँ रहेको छ । तीनवटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान जीवा लामिछानेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट