कालिकाको फोहोर व्यवस्थापनमा चुनौती, खगेरी क्षेत्रमा सरसफाइ

कालिका, ८ असोज ।
कालिका नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । फोहोर संकलन एवं विसर्जनको उपयुक्त विकल्प नहुँदा खोला र जंगल क्षेत्रमा यत्रतत्र फाल्ने गरेको पाइएको छ । सडक, खोला र जंगल क्षेत्रमा अत्यधिक फोहोर भएपछि विश्व नदी दिवसको अवसरमा भोजाड र पदमपुर जोड्ने कालिका नगरपालिका- ५ स्थित खगेरी खोला किनारमा सरसफाइ गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनको आयोजना, सहमति संस्था गैँडाकोट, डब्लुडब्लुएफ, चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका- १ र भीमवली सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका- ५ को सहयोगमा खगेरी खोला लंकालाइन क्षेत्रको दुवै किनारमा रहेका प्लाष्टिक एवं सिसाजन्य फोहोर व्यवस्थापन सम्बन्धि सचेतना एवं सरसफाइ गरिएको हो ।

डिभिजन वन कार्यालय चितवनका प्रमुख, डिभिजनल वन अधिकृत लोकराज नेपालले स्थानीय तहबाट फोहोर व्यवस्थापन गर्न नसकेका कारण वातावरण प्रदुषण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “घर बनाउने तर शौचालय नबनाउने भने जस्तै भएको छ, शहरबाट फोहोर निस्कन्छ तर फोहोर फाल्ने ठाउँ जंगल होइन्, जंगल तथा नदीमा फोहोर फाल्नु एक किसिमको अपराध नै हो ।”

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले ५२ औँ पटकसम्म नारायणी नदी किनारमा सरसफाइ गरिसकेको उल्लेख गर्दै अबका संरक्षणमुखि कार्यक्रम खगेरी बेसिन क्षेत्रमा सञ्चालन गरिने उल्लेख गरे । उनले भने, “जलाधार क्षेत्र संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो, स्थानीय र सरोकारवाला सबै पक्षसँगको सहकार्यमा वातावरण, जंगल र नदीको क्षेत्रमा सकरात्मक नतिजा दिन चाहन्छौँ ।”

चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिकुमार गुरुङले नगरपालिकाले फोहोर व्यवस्थापनको विकल्प नदिँदा स्थानीयले नदी र जंगल क्षेत्रमा फोहोर फाल्ने गरेको बताए । वनको एक्लो प्रयासले फोहोर व्यवस्थापन चुनौती बनेको बताउँदै उनले सरसफाइका लागि यस क्षेत्र छनोट गरी सरसफाइ गरेकोमा आभार व्यक्त गरे ।

भीमवली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्र चौधरीले स्थानीयलाई जागरुक एवं फोहोर व्यवस्थापनका लागि पालिका स्तरबाट पहल नभएसम्म चुनौती थपिइरहने बताए । डिभिजन वन कार्यालय चितवनका वन अधिकृत बालकृष्ण खनालले सरसफाइलाई अभियानका रुपमा नै सञ्चालन गरिने बताए ।

सहमति संस्थाले जलाधार क्षेत्रको सरसफाइ गर्नुका साथै सरसफाइबारे चेतनामूलक बोर्ड राख्ने, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षणमा सहजीकरण गर्दै आएको छ ।
नदी मानव सभ्यातासँग जोडिएको छ । कतिपय मानव समुदायको जीविका नदीसँग जोडिएको छ । जलचर तथा जीवजन्तुसमेत नदीमा आश्रित छन् । नदी प्रदुषण हुँदा हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट