भरतपुर, ८ असोज ।
चितवन जिल्लाका पाँच वटा अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले ५० हजार रुपैयाँ बराबरको खर्च व्यहोर्ने भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री उत्तम जोशीले अस्पतालहरुलाई सम्झौता हस्तान्तरण गरेका हुन् ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटलसँग सम्झौता गरिएको हो । बकुलहर रत्ननगर अस्पतालसँग यस अघि नै सम्झौता भईसकेको छ ।
यी पाँच वटा अस्पतालमा क्यान्सरको उपचार गर्दा संघीय सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँपछि प्रदेशले ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । यससँगै बागमती प्रदेशभित्रका क्यान्सर रोगीले उपचार गर्दा १ लाख ५० हजार रुपैयाँ बराबरको औषधि उपचार सेवा निःशुल्क पाउनेछन् ।
बागमती प्रदेश सरकारले यस अघि नै प्रदेशका अन्य २४ वटा अस्पतालसँग यस सम्बन्धी सम्झौता गरिसकेको छ । सम्झौता गरेका अस्पतालहरुमा चितवनको बकुलहर रत्ननगर अस्पताल सहित प्रदेश अन्तर्गतका १३ वटा अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।
यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि रु.५० हजार बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाईने सम्झौता भईसकेको छ ।





