`सुमन सुधा´को रसास्वादन गर्दै

सुधा हो साधना मेरो, उज्यालो काफिया पाएँ
यही हो चाहना साथी, यता गाएँ उता गाएँ
सुमन कडरियाको नाम पहिलोपटक “सुमन सुधा” को गृह विमोचन हुँदैछ है भन्ने जानकारी दिन सार्वजनिक गरिएको व्यानरमा देखेको हो । अझ अचम्म लागेको कुराचाहिँ उनी चितवनवासी, त्यसमा पनि गजलसंग्रह प्रकाशित गरिसकेको खबरले हो । ओम कार्की स्मृति प्रतिष्ठानमार्फत् भदौ २८ गते भरतपुरस्थित धावन पार्टी प्यालेसमा भएको गृह विमोचन कार्यक्रममा मैले पनि उपस्थिति जनाएको थिएँ । उक्त कार्यक्रममा पहिलोपटक भेट, कुराकानी भयो । उनीबाट हस्ताक्षरित संग्रह प्राप्त गरेँ, तस्बिरहरू पनि खिचियो ।
म गजल सिक्न चाहने एक पात्र, कहिलेकाहीँ लेख्ने प्रयास पनि गर्छु । कृतिहरुमाथि पाठकीय प्रतिक्रिया दिने प्रयास गर्छु । आज सुमनको गजलसंग्रह सुमन सुधामाथि आफ्ना धारणाहरु राख्न चाहिरहेको छु ।

सुमन सुधा (२०८०) सुमन कडरियाद्वारा लिखित पहिलो एकल कृति हो । यसअघि उनका सिर्जनाहरु नन्दन कोपिला सिद्धान्त तथा बगैँचा (२०७८) र गमुको संग्रह (गजल, मुक्तक, कोपिला २०७९) गरी दुईवटा संयुक्त संग्रह प्रकाशित भएका छन् ।
सुख शान्ति मिडिया प्रा.लि. द्वारा प्रकाशित संग्रह आफ्ना दिवंगत पिता रामप्रसाद कडरियाप्रति समर्पित गरेका छन् उनले । कृतिभित्र गजलकार दीर्घराज प्रियसी, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलि, ओम कार्की साहित्य प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्की अमुको शुभकामना लेख पढ्न सकिन्छ । वासु सापकोटाको सम्पादकीय, सुखशान्ति मिडिया प्रा.लि. का अध्यक्ष दामोदर ढकाल दीपकको प्रकाशकीय लेख छापिएको छ । साहित्यकार धनराज गिरिले धनराजीयन शैलीमा चार पृष्ठको आयतनमा भूमिका लेखेका छन् भने लेखक स्वयमको आफ्ना कुरा, गन्थन मन्थन हुने नै भैहाल्यो ।

नेपाल भौगोलिक विषमता भएको देश हो, यसको फैलावट समथर तराईदेखि मधेस, पहाडहुँदै हिमालय पर्वतसम्म छ तर वनविनास, अव्यवस्थित शहरीकरण, हातहतियार परीक्षण, युद्धजस्ता यावत कुराहरुले अतिवृष्टि, अल्पवृष्टि, खण्डवृृष्टि हुने गरेका छन् । गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने गर्छ । बिना सर्वेक्षण बाटोघाटो, पुलपुलेसा निर्माणले पहिरो, भूक्षय हरेक वर्ष बढ्दो क्रममा छ । जसबाट ठूलो धनजनको क्षति हुनाका साथै धेरै खेतीयोग्य जमिनहरु बगरमा परिणत हुने क्रम बर्सेनि बढ्दो छ भने सर्वसाधारण जनताहरु थातथलो छाडेर विस्थापित हुन बाध्य भएका छन् जसलाई सुमनले आफ्ना शेरहरुमा यसरी उतारेका छन् :
कहिले वैशाख कहिले असारले सताउँछ
छेउछाउका वस्तीलाई किनारले सताउँछ
(गजल ४/ शेर १)
हुन त हिजोआज समसामयिक घटना, परिवेश, राजनीतिक द्वन्द्व, विपदका घटनाहरु, खेलकुद लगायत विविध विषयहरुमाथि गजल लेखिन थालेको छ । तर पहिलेको अवस्था त्यस्तो थिएन । शासकहरु, सामन्तीहरुका विरुद्धमा गजलका शेरहरु लेख्नसक्ने अवस्था थिएन । यसकारण पनि पहिलेका गजलहरु शासक, सामन्तीहरुका गुणगानमा, प्रेयसी, प्रेमिकाहरुका प्रसंशा गरी, भगवान्को भक्तिभाव– आराधनामा लेखिएका हुन्थे ।
सुमन सुधाभित्र शृंगारिक रसमा लेखिएका गजलहरु प्रशस्त भेट्न सकिन्छ :
सबैथोक आहा, तिमी आउनाले
हराए पिराहा तिमी आउनाले
(गजल १८/ शेर १)
हाम्रो पूर्वीय संस्कृतिमा मातृदेवो भवः, पितृदेवो भवः भनेर आफ्नो आमाबुबालाई देवताको रुपमा पुज्ने गरिन्छ । गजलकारले घरको गर्जो टार्न, बालबच्चाको समुज्वल भविष्य निर्माणार्थ आफू परदेश गएको अवस्थामा बुढा बाबुआमाको राम्रोसँग स्याहारसुसार गरिदिन जीवनसंगिनीलाई यसरी सुझाएका छन् :
जिउँदा ईश्वर हुन् बाआमा खुशी भर्नु मुहारभरि
जीवनको अन्तिम पलसम्म सुसार गर्नु तिमीले
(गजल ३६/शेर २)
करिब चार वर्षअघि चिनको बुहान प्रान्तबाट फैलिएको महामारी रोग कोरोना भाइरसबाट सर्ने कोभिड–१९ बाट करोडौं सङ्क्रमित भए, लाखौंको मृत्युु भयो जसबाट विश्व अर्थतन्त्र धरासायी भयो । यसबाट नेपाल पनि अछुतो रहेन । उक्त सकसपूर्ण अवस्थालाई आफ्नो दृढ विश्वासले जितेको कुरा गजलका शेरहरुमा शानदार रुपमा यसरी चित्रण गरेका छन् :
कोरोनाको बिगबिगी छ डरेको त छैन अझै
रोगले, शोकलु गले पनि मरेको त छैन अझै
संक्रमणको साङ्लो चुढौँ आउ हातेमालो गरी
खतराको जोखिम घडी टरेको त छैन अझै
(गजल ५८/ शेर १ र ५)
पृथ्वीनारायण शाहले दिव्योपदेशमार्फत् “घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्” भनेर सन्देश दिएका थिए तर अहिलेको वर्तमान अवस्थामा नेपाल सबैभन्दा धेरै भ्रष्टाचार हुने देशहरुमा पर्छ । यहाँका अधिकांश कर्मचारी, नेताहरु भ्रष्टाचार गर्छन् । कुनै पनि काम कमिशन, घुस बिना गर्न असम्भव छ । ठेकेदारहरु पटकपटक म्याद थपेर पनि विकास निर्माणका कामहरु पूरा गर्दैनन् । मेहनत गरेर अन्न, तरकारी उत्पादन गर्ने किसान र उपभोक्ताहरुबिचको मूल्यमा आकाशपातालको फरक पर्छ, जसबाट विचौलियाहरु मोटाउने क्रम चलिरहेको छ । अदालत र पीडितहरु उल्टो अन्यायमा पर्ने गरेका छन् । यसले न्याय क्षेत्रमा समेत घुस घुसखोरि बढिरहेको छ । यसबाट दिक्क भएका कडरियाले बुद्धको उपदेश सत्यम् वदःलाई घुसखोरीहरु व्यवहारमा कहाँ उतार्छन् र ?
हराउँदै छ न्याय आज जन्मिदै छन् भ्रष्टाचारी
सत्य र ईमान के हो घुसखोरीलाई थाहा हुन्न
(गजल ६६ / शेर ५)
हुन त प्रकृतिलाई मन नपराउनेहरु सायदै होलान् तर सुमन अलि बढी भावुक छन् । उनलाई शहरको भिडभाड, कोलाहल, झिलिमिलिभन्दा गाउँको शान्त, सभ्य वातावरण मन पर्छ । झरनाको संगीतमा रम्न चाहन्छन् खोलानाला, ताल तलैया, हिमाल, पहाड, वनजंगल, फूलहरु, चराचुरुंगीका गीतहरु, जीवजनावरहरु उनलाई रमाइलो लाग्छ ।
प्रकृतिको अनुपम दृश्य देखेर उनलाई विवाहमण्डपमा सोह्र शृंगार गरेर सजिएकी दुलहीजस्ती सुन्दर लाग्छः

सोह्र शृंगार वधु जस्तै हेरिरहूँ लाग्ने ।
चिरिच्याट्ट परिदृश्य हरदम प्रकृतिको ।
मन्त्रमुग्ध बनाएको छ गाना बजानाले ।
झर्ना झर्छ मिठो लय सरगम प्रकृतिको ।
(गजल ९२ / शेर २ र ४)
प्रविधिको बढ्दो प्रयोगले कतिपय युवतीहरुले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन्, जसले गर्दा खानपिन, पहिरन, बानीव्यवहार तथा यौनका विषयमाथि प्रभाव पारेको देख्न सकिन्छ । महँगा मोबाइल चलाउनुपर्ने, निजी सवारी साधनमा हिड्नुपर्ने , दिनप्रतिदिन नयाँ नयाँ पोशाक लगाउनुपर्ने, व्युटी पार्लरमा गएर राम्रो हुनुपर्ने जस्ता बानीहरु पूरा गर्न रुपैयाँ अवश्य चाहिन्छ जसका लागि उनीहरु यौन व्यवसायी बन्ने वातावरण तयार हुन्छ । जसले गर्दा उनीहरु समाजको नजरबाट तल गिर्ने गरेको तथ्य सुमनले यसरी व्याख्या गर्छन् :
मनै दिन्छन्, तनै दिन्छन् जवानीको जोशमा
समाजमा तल गिर्छन् आजकलका केटी
(गजल ७२/ शेर ५)
स्नातकोत्तर उत्तीर्ण सुमन पेशाले शिक्षक हुन् । उनले चतुर्मुखी माध्यमिक विद्यालयमा पढाउँदै आएका छन् । विद्यालय गएर पढाउन पाउँदा गर्व गर्छन् सुमनले । शिक्षाको उज्यालोबाट मात्रै समाज परिवर्तन सम्भव छ, शिक्षाबाट मात्रै देश विकासको गतिमा लम्कन सक्छ भन्ने मान्यता उनको छ । तर शिक्षकले आफूभित्र असल बानीव्यवहार समाहित गर्नुपर्ने धारणा राख्छन् उनी :
सिकाइमा प्रवृत्त भै यो मोडमा आएको छु
सिक्नलाई, सिकाइलाई अभिप्रेरित भएँ
(गजल ८० / शेर ४)
हाम्रो नेपाली समाज पितृसत्तात्मक हो । करिब सय वर्ष अघिसम्म श्रीमान् मर्दा श्रीमतीहरू सति जानुपर्ने विकृति थियो । अहिले त्यो प्रथा त छैन तर सुदुर पश्चिममा अझैसम्म पनि किशोरीहरु रजस्वला हुँदा छाउगोठमा राख्ने गरिन्छ । ती छाउगोठहरु मैले अछाम पुग्दा प्रत्यक्ष देखेको समेत छु जुन दृश्यले मलाई भावुक पनि बनाएको थियो ।
शिक्षा, पोशाक, खानपिन, अंशवण्डा जस्ता क्षेत्रमा जस्तोसुकै शिक्षित भए पनि भेदभाव गर्छन् । नेतृत्वदायी भुमिकामा महिलाहरु पछि पारिएकै हुन्छन् । महिलाहरुको पक्षमा उनी यसरी पोखिएका छन् :
समाजमा अघिदेखि दमित छन् स्वास्नीमान्छे
रितिस्थिति यस्तै छ चलनमा पीडा भारी छ
(गजल ९ / शेर ६)
“सुमन सुधा“ भित्र पाँच शेरमा रचिएका १०१ गजलहरु समाविष्ट छन् । हुन त तखल्लुसको प्रयोग अनिवार्य होइन तर गजलकारले दोस्रो र सतासीऔँ गजलमा मात्रै तखल्लुसको प्रयोग गरेका छन् ।
स्मृतिमा मिठा याद सजाएर राख्नु
सुमन सुधा रमेको प्रभात भुल्नुहुन्न
(गजल २)
पिडाको डंगुर औधी नसोध सुमनसँग
मौन छन् मनमुटु उदासी नजर त्यसै (गजल ८७)
कृतिको पहिलो गजल बहरे हजजमा र अठारौं र चौबिसौँ गजल बहरे मुतकारिब गरी तीन वटा गजलहरु बहरमा लेखिएका छन् ।
परेली अधरमा छ लाली चिनारी
रमाउँला, जमाउँला सिरानी भएर
गजल २४/ शेर ४)
सुमन सुधा पढेर सकेँ यसबारेमा आफ्ना विचारहरु प्रस्तुत गर्दै पनि छु । उनका गजलहरु पढ्दै गर्दा यस्तो लाग्दैछ कि नेपाली गजल साहित्यकाशमा एउटा आशालाग्दो नक्षत्रको आगमन भएको छ । पहिलो सन्तान भनौँ या पहिलो कृति जोसुकैलाई प्यारो लाग्ने नै भयो । अझ पहिलो कृतिले स्रष्टालाई स्थापित गराउन सक्यो भने जिन्दगीमा धेरै महत्व रहन्छ । सुमनको लेखनीमा विश्वास गर्नलायक दम छ तर उनले निरन्तर अध्ययन लेखन र साधना भने गरिरहनुपर्छ । “सुमन सुधा“ भित्र समेटिएको १०१ औँ क्रममा रहेको एउटा प्रेमिल शेरहरु राख्दै म थामिन्छु ।
उनीसँग खर्चिएका रातहरु मिठा थिए
सुमन सुधा मिसिएका बातहरु मिठा थिए
(गजल १०१/ शेर १)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट