भरतपुर, ७ असोज ।
उखानै छ, ‘जो होचो उसको मुखमा घोचो’ । हुन पनि हो, ‘बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने’ यो जमानामा इमानदार भई कृषि कर्ममा जुटिरहेका विपन्नमाथि कसको पो ध्यान जान्छ र ? किसानका नाममा राज्यले खर्चने सहयोग सामग्री र बैंकहरुले दिने सहुलियतको ऋण त टाठाबाठाहरुको लागि पो हो । घरको पालीमा गाईभैँसी पाल्ने साना किसानलाई गोठ बनाउने सहयोग पनि नआउने रहेछ कतैबाट ।
भरतपुर महानगरपालिका–५, कल्याणपुरमा टिनको पालीमुनि एक दर्जन गाईभैँसी पालेर दैनिक ४५ लिटर दूध बिक्री गर्दै आएका खड्का दम्पतीले घरपछाडि गोठ बिस्तार गर्न सकेका छैनन् । सरकारी सहयोग हात पर्छ कि भनेर लोकबहादुर खड्काले चार वर्षअघि पत्नी विष्णुकुमारीको नाममा खड्का कृषि फर्म दर्ता पनि गरे तर अहिलेसम्म कुनै सहयोग पाउन सकेनन् । विष्णुकुमारीका भाइ सुनिल कुँवरको आग्रहमा खड्का दम्पतीले कृषि फर्म दर्ता गरेका थिए ।
अनुदान वा सहुलियतमा पाइने पानी तान्ने मोटर, गोठमा ओछयाउने म्याट र घाँस काट्ने मेसिनका लागि सुनिलले गत वर्ष कृषि ज्ञान केन्द्र भरतपुरमा निवेदन दिन लगाए दिदीलाई तर सुनुवाई भएन । ‘दिदी र भिनाजुले पशुपालन गर्नुभएको देखेर फर्म दर्ता गर्न पहल र सहयोग गरेँ । फर्म दर्ता गरेपछि सरकारी सहयोग मिल्छ कि भन्ने आशा थियो, केही भएन’ कृषि फर्ममै भेटिएका उनले भने, ‘नक्कली किसान बनेर बैंकबाट सहुलियतको ऋण खानेहरु पनि देखेँ तर दिदीभिनाजुजस्ता सक्कली किसानले राज्यबाट केही सुविधा पाउन सकेका छैनन् ।’
कृषि फर्म दर्ता गर्नुभन्दा धेरै वर्ष पहिलेदेखि नै पशुपालन गर्दै आएका खड्का दम्पतीले फर्म दर्ता गरेपछि घाँसखेती पनि सुरु गरे । ‘घर वरपर अरुको १५ कठ्ठा बारी भाडामा लिएर घाँसखेती गर्दै आएका छौँ’ लोकबहादुर भन्छन्, ‘वैशाखदेखि असोजसम्म घाँसैघाँस हुन्छ । घाँससँगै पराल र चोकर पनि खुवाउनु पर्छ ।’ एक छोरा र एक छोरीको सहयोगमा पशुपालन गरिरहेका खड्का दम्पतीले घाँस काट्ने सिजनमा स्थानीयलाई रोजगारीसमेत दिन्छन् । ‘घाँस काट्न आउनेलाई एक घण्टाको सय रुपैयाँका दरले ज्याला दिन्छौँ’ विष्णुकुमारीले भनिन् ।
खड्का परिवारका चार जना सदस्य गोठमा रहेका सात वटा गाई र पाँच वटा भैँसीको स्याहारमा जुट्छन् । गोठमा काम गर्नका लागि बाहिरी मानिस राखिएको छैन । घरकै सदस्यले गोठको सरसफाई गर्ने, घाँसपराल दिने, दूध दुहुने र बिक्री गर्ने काम गर्छन् । दैनिक बिहान २५ लिटर र बेलुका २० लिटर दूध बिक्री गर्दै आएको विष्णुकुमारीले बताइन् । ‘१० लिटर दूध सहकारीमा बेच्छौँ, अरु सबै घरबाटै बिक्री हुन्छ’ उनले भनिन् । खड्का दम्पतीले घरमा दूध किन्न आउनेलाई भैँसीको दूध ११० रुपैयाँ प्रतिलिटर र गाईको दूध ८० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएका छन् । ‘होलसेलमा अलि धेरै लैजानेलाई लिटरमा १० रुपैयाँ कम गरेर बेच्छौँ’ लोकबहादुरले भने ।
पाँच वटा गाई र आठ वटा भैँसी पालेर फर्म सुरु गरेको जानकारी दिँदै लोकबहादुर भन्छन्, ‘दुख्ख गरेको फल दिइराखेका छन् बस्तुभाउले । गोठको खर्च, घरखर्च कटाएर महिनाको ३० हजार रुपैयाँ बचत हुन्छ । दिनको १५ लिटर दूध दिने भैँसी ब्याउनेवाला छ । गोठ बढाएर गाईबस्तु थप्ने सोच छ ।’ तत्काल यही महिनाभित्र तीन वटा गाई र तिहारपछि गाई र भैँसी गरेर पाँच वटा थप्ने योजना छ खड्का दम्पतीको । ‘गोठ सुधार गर्न आर्थिक अभावले सकिरहेको छैन’ लोकबहादुर भन्छन्, ‘कृषि पेशाबाट सन्तुष्ट छु । सरकारी सहयोग पाउन पाए खुसी मिल्ने थियो ।’
पशुपालन गर्नेहरु कृत्रिम गर्भाधानतिर आकर्षित भइरहेका बेला लोकबहादुरले भने होलिस्टन जातको एउटा साँढ (प्रजनन्का लागि पालिने साँढे) पनि राखेका छन् गोठमा । साँढेको सेवावापत उनले सेवाग्राहीबाट हजार रुपैयाँ लिन्छन् । उनी भन्छन्, ‘गाईलाई बाली लगाउन (प्रजनन् गराउन) गाउँलेहरु आउँछन् । कृत्रिम गर्भाधानभन्दा यो सेवा भरपर्दो छ ।’ जागिरभन्दा आफ्नै काम र व्यवसाय राम्रो हुने भन्दै लोकबहादुरले युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।





