चितवनका टुहुरा गैंडालाई कोशी टप्पु पठाइने

भरतपुर, ६ असोज ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।

असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेशप्रसाद तिवारीले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैंडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उनले बताए ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिोेदनमा कोशीमा गैंडाको उपयुक्त वातावरण निर्माणका साथै सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाँको वातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ ।

कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।
अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए । गैडा पठाउनको लागि पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट