भरतपुर, ५ असोज ।
भरतपुरस्थित अङ्कुरम् एकेडेमीबाट विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेका रोचक अधिकारी काठमाडौँ विश्वविद्यालयले लिएको स्कुल अफ इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन् ।
प्लस टु पढ्दासम्म औसत स्कोरमा पास भएका रोचक देशभरबाट झण्डै पाँचहजार विद्यार्थी सहभागी भएको परीक्षामा १६४७ सीबीटी स्कोर ल्याएर नेपाल प्रथम भएका हुन् । यसै अवसरमा रोचकलाई अङ्कुरम् एकेडेमीले शुक्रबार स्कुलमा सम्मान गरेको छ । सम्मान लिएपछि रोचकले भने- ‘परीक्षा राम्रो भएको थियो तर नेपाल प्रथम नै हुन्छु भन्ने चाहिँ सोचेको थिइनँ ।’ 
अजिरकोट-३ गोरखा स्थायी घरभई भरतपुर बस्दै आएका रोचकले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा पनि दिने तयारी गरेका छन् । ‘मलाई जसरी हुन्छ इञ्जिनियरिङ पढेर इञ्जिनियर हुनुछ । तर स्कुल अफ इञ्जिनियरिङको परीक्षामा त प्रथम भएँ, अब पुलचोक इञ्जिनियरिङ क्याम्पसको परीक्षाको तयारी गर्नुछ´, रोचकले भने । सरकारी स्कलरमा इञ्जिनियरिङ पढ्न मन लागेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै एकेडेमीका कार्यक्रम निर्देशक डा. आर्यन धितालले भने ‘ म पनि एमएस्सी पढ्दापढ्दै जापानमा पिएचडी स्कलर पाएको विद्यार्थी हुँ, म क्वान्टिटीमा होइन, क्वालिटीमा विश्वास गर्छु ।’ तालिम र शिक्षा फरक भएको बताउँदै निर्देशक धितालले भने- ‘घोकन्ते शिक्षाले विद्यार्थीको क्वालिटी बढाउँदैन, अहिलेको ग्लोबल मार्केटमा हाम्रो उत्पादनले क्षमता देखाउन उनीहरुको सीप र क्रियटिभिटीको आवश्यकता छ । त्यसैले हामी विद्यार्थीको स्ट्यान्डर्डमा विश्वास गर्छौँ, जिपिएमा होइन ।’
त्यस्तै कार्यक्रममा बोल्दै अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले रोचक जस्ता नेपाल प्रथम हुनसक्ने बौद्धिक विद्यार्थी उत्पादन गर्न सकेकोमा आफूलाई खुशी लागेको बताए । पत्रकार सम्मेलनमा पौडेलले भने ‘अहिले पढ्दै गरेका विद्यार्थीहरुलाई पनि रोचकको अनुभवले मोटिभेसनको काम गर्ने र पढ्नमा उर्जा थप्नसक्छ । त्यसैले आज रोचकको सम्मानमा पत्रकार सम्मेलन गरिएको हो ।´
२०७९ को परीक्षामा देशभरबाट ५१% विद्यार्थी उत्तीर्ण भएका छन् तर अंकुरम एकेडेमीले ९६.८३% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । कार्यक्रममा विभिन्न विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।





