धनगढी, २ असोज ।
कैलालीको धनगढीमा आगामी मंसिरको दोस्रो साता आयोजना हुने लिटल फ्लावर प्रीमियर लिग (एलपीएल) को आठौं संस्करण नजिकिँदै गर्दा चर्चा चुलिँदै गैरहेको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्टसको आयोजनामा २०७३ सालबाट निरन्तर संचालन हुँदै आएको प्रतियोगितामा यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुने भएपछि क्रिकेटप्रेमीहरुले यो संस्करणलाई निकै चासोका रूपमा हेरिरहेका छन् ।
प्रतियोगितामा यसपटक राष्ट्रिय टिमबाट थुप्रै प्रतियोगिता खेलिसकेका खेलाडी ललित सिंह भण्डारी पनि खेल्ने भएका छन् । भण्डारी ४ वर्ष अगाडि मोटरसाइकल दुर्घटनामा परी शक्त घाइते भएपछि क्रिकेट गतिविधिमा सहभागी हुन सकेका थिएनन् । उनी गृहजिल्ला कंचनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनबाट एलपिएल खेल्नेछन् । सो टिमले उनलाई कप्तान समेत घोषणा गरिसकेको छ । ललितको पुनरागमनलाई पनि विशेष चासोको रूपमा हेरिएको छ ।
एलपील खेल्ने अर्को ठूलो नाम हो, हरिबहादुर चौहान । घरेलु प्रतियोगितामा असाध्यै लोकप्रिय खेलाडी चौहान युथ अफ टीकापुरबाट खेल्ने क्लबले जानकारी गराइसकेको छ । त्यस्तै यु-१९ टिमका कप्तान र राष्ट्रिय टोलीबाट समेत दर्जनौं प्रतियोगिता खेलिसकेका राजु रिजालले पनि एलपिएलमा सहभागिता जनाउने उच्च सम्भावना छ । त्यस्तै गौतम केसी, लोकेश बम, देव खनाल, कृष्ण कार्की, नारायण जोशी, बिपिन रावललगायत यु-१९ र १६ का दर्जनौं खेलाडी एलपीएल खेल्ने प्रतियोगितामा दर्ता भएका टिमले जानकारी दिएको छ ।
देशभरीका १६ टिमले सहभागिता जनाउने लिटल फ्लावर प्रीमियर लिगमा अहिले विभिन्न टिमले आ-आफ्ना आइकन खेलाडी घोषणा गर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । `नेपाली क्रिकेटमा केही न केही योगदान होस् भनेर कठिन परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिइरहेका छौं, अवस्था गाह्रो छ तैपनि सबै शुभचिन्तक, खेलप्रेमीहरुको हौसलाले आफूलाई उर्जा थपिरहेको छ´, लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । उनले यसपटक प्रतियोगिताले थप उचाई चुम्नेमा आफू विस्वस्त रहेको समेत बताए ।
राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेताले १ लाख २८ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा म्याक्सिमम् सिक्सेस प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन् ।





