भरतपुर, ३० भदौ ।
चितवन साइकल राइडर्स क्लबले साइकल मर्मत सम्बन्धि निशुल्क तालिम दिएकाे छ । डि.आर. साइकल स्टोर्स, नारायणगढसँगको सहकार्यमा साधरण साइकल मर्मत सम्बन्धि तालिम दिइएको हो ।
भरतपुर- १०स्थित हिमालयन चियामा आयाेजना भएकाे उक्त कार्यक्रममा ४० जनाले साइकल मर्मत सम्बन्धि तालिम लिएका साइकल राइडर्स क्लब चितवनका अध्यक्ष पदमबहादुर बानियाँले बताए । तालिममा साइकल राइडर्सहरुलाई लामो दुरीमा यात्रा गर्दा साइकलको अवस्था बारे लिनु पर्ने जानकारी साथै सामन्य मर्मतको बारेमा पनि जानकारी दिइएकाे अध्यक्ष बानियाँले बताए । उनले क्लबको तर्फबाट प्रत्येक शनिबार आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साइकल राइडमा जाने गरेको पनि जानकारी दिए । मर्मत सम्बन्धि तालिमले जङ्गलमा साइकल बिग्रँदा हुने अप्ठ्यारोलाई सहजीकरण गर्न सजिलो हुने उनले बताए ।
डि.आर. साइकल स्टाेर्सका सञ्चालक तथा क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले पहिला पहिला दैनिक जीवनमा सहजताका लागि प्रयोग हुँदै आएको साइकल हाल प्यासनको रुपमा प्रयोग गर्नेको संख्या बढेकाे बताए । `साइकल प्रयोगले स्वास्थ्यलाई तन्दुरुस्ती राख्नुका साथै यात्रामा सहजता प्रदान गर्ने हुनाले हाल पनि साइकल प्रयोगकर्ताको संख्या धेरै रहेको छ´, सापकोटाले भने – `साइकल चलाउनेले समान्य मर्मत गर्न जाने बाटोमा अलपत्र नपर्ने भएकोले यस क्लबसँगको सहकार्यमा तालिम दिएका हौँ ।´





