गैंडाकोट, ३० भदौ ।
रेडियो संकेत ९३ मेगाहर्जले आयोजना गरेको प्रतिस्पर्धात्मक तीज गीत कार्यक्रम २०८० मा भानु आदर्श कृषि समूह कावासोती प्रथम भएको छ । द्वितीय र तृतीय हुनेमा क्रमश: सरस्वती निकेतन बोर्डिङ स्कूल गैंडाकोट र गैंडाकोट प्रगति महिला समूह गैंडाकोट- १ रहेका छन् ।
यसैगरी सृजनशील महिला समूह गैंडाकोटले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रसिद्ध लोकदोहोरी गायक अमर बिरही गुरुङको नेतृत्वमा बनेको निर्णायक मण्डलले प्रतिस्पर्धीहरुको मुल्यांकन गरेको थियो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश: नगद रु १५ हजार, १० हजार, ७ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी टिमहरूलाई रेडियो संकेतका संचालन समिति सदस्य षडानन्द लामिछाने र स्टेशन म्यानेजर सुजन अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
गैंडाकोट- २ को मनकामना आमा समूह सहआयोजक रहेको उक्त प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए । रेडियो संचालक समिति अध्यक्ष चिरञ्जीवी श्रेष्ठले कार्यक्रमको अध्यक्षता र सह अध्यक्षता मनकामना आमा समूह अध्यक्ष बिष्णु अर्यालले गरेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजकमा आरम्भ कलेज भरतपुर, कनेक्ट अष्ट्रेलियन एजुकेशन एण्ड भिषा सर्भिसेस नारायणगढ र एम्स एजुकेशन एब्रेड गैंडाकोट रहेका थिए । यसैगरी गैंडाकोट नगरपालिका कार्यालयले कार्यक्रमको प्रबर्द्धन गरेको थियो । गैंडाकोट-५ मा रहेको रेडियो संकेतले स्थापना कालदेखिनै प्रत्येक वर्ष तीजका अवसरमा तीज गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
शुक्रबार गैंडाकोटको होटेल द नारायणीको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मीहरु राजेन्द्र पौडेल र सुरज पौडेलले गरेका थिए ।





