भरतपुर, २३ भदौ ।
गौवंश रक्षार्थ शनिबार नारायणी नदी किनारमा हिन्दुधर्मावलम्बीहरूको जनसागर उर्लिएको छ । नेपाल सन्त समाजको आयोजनामा भएको धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो । सभामा गाई हाम्री माता हुन्, हाम्रो धर्म हाम्रो देश प्राण भन्दा प्यारो छ, संविधानको पालना गर, ॐकार परिवार एक हौँ, गोवंशका हत्यारालाई कारवाही गर, वैदिक सनातन हिन्दु धर्म कायम गर लगायतका प्ले कार्डप्रदर्शन गरिएको थियो ।
लंकु, रत्नगर, देवघाटधाम, कावासोती, देवचुली, गैंडाकोटबाट धर्मावलम्बीहरू भजनकिर्तन सहित नारायणगढको शहिदचोक, पुल्चोक हुँदै नारायणी किनार पुगेका थिए । भगवान गौतमबुद्धको प्रतिमासँगै बनाइएको धार्मिक सभाको स्टेजमा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गाई रक्षार्थ साथै हिन्दु धर्मरक्षार्थ जागरुक हुनुपर्ने बेला आएको बताए ।
धार्मिक संगठन र युवाको प्रतिनिधित्व गर्दै विश्वहिन्दु महासंघका प्रतिनिधि श्याम पौडेलले हिन्दु राष्ट्र निर्माणका लागि युवाहरू एकस्थानमा उभिन आग्रह गरे ।
बौद्ध धर्मका विशिष्ट अनुयायी लेखक एवं विचारक मोहन लामा रुम्बाले गाई माता तुल्य रहेको बताए ।
श्रीवैष्णव सम्प्रदायको प्रतिनिधित्व गर्दै स्वामी जगन्नाथाचार्यले नेपाली संस्कार र संस्कृतिको अन्त्यको लागि प्रोपोगाण्डा फैलाउन चाहेको हुँदा हिन्दुहरूलाई समय मै सचेत रहन आग्रह गरे ।
जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले असल संस्कार र संस्कृति हिन्दु धर्मको जग रहेको हुँदा युवाहरूमा चेतना फैलाउन आवश्यक भएको बताए ।
महेश सन्यास आश्रमका पिठाधीश स्वामी रमणानन्द गिरि र निम्बार्क दर्शनका विद्वान हरिशरण शास्त्री महाराजले गौमाता हिन्दु धर्मावलम्बीका लागि आमाको स्वरुप रहेको हुँदा आमाको रक्षार्थ सबै एकजुट हुन आवश्यक रहेको बताए ।
धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ नारायणी किनारमा धार्मिक सभा गरिएको हो ।
चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक)ले गोवंश रक्षार्थ धार्मिक सभा गरिएकोे गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले बताए ।
नेपालको मुलुकी अपराध संहिता २०७४ ऐनको परिच्छेद २७ पशुपंक्षीसम्बन्धि कसुरको दफा २८९ मा गाईगोरु काट्न र मार्न वा कुट्न नहुने उल्लेख छ ।





