बागमती प्रदेश सरकारले आज भदौ २२ गते शुक्रबार प्रदेशका १३ मध्ये तीन जिल्ला चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चेपाङ समुदायको मुख्य पर्व छोनामको अवसर पारेर बिदा दिएको हो । जातजाति समुदाय र क्षेत्र विशेषका पर्वहरुमा बिदा दिने गर्दा नेपालमा बिदा धेरै भएको भनेर आलोचना नभएको हैन । तर यहाँ त्यो विषयमा भन्दा पनि छोनाम र यो पर्व मनाउने चेपाङकै चर्चा हुने छ ।
चेपाङहरु चितवनका आदिवासी हुन् । जनसंख्याको चाप बढेको अहिलेको समयमा चेपाङहरु कुना काप्चातिर हराएजस्ता भएका छन् । तर एक समय यहाँका मुख्य बासिन्दा नै यी जाति थिए । राप्ती दुन परियोजना सुरु भएपछि विस २०१३ सालबाट मात्रै चितवनमा अन्य पहाडी जिल्लाका बासिन्दाहरु आएर बस्न थालेका हुन् । त्योभन्दा अघि चितवनमा औलो रोगका डरले अन्य जिल्लाका मान्छेहरु आएर बस्न तर्सने गर्दथे ।
औलो रोग उन्मुलनका साथै व्यवस्थित वस्ती विकास गर्न सरकारले अमेरिकाको सहयोगमा राप्ती दुन विकास परियोजना सुरु गरेपछि यहाँ बस्ती र जनसंख्या ह्वात्तै बढ्न लागेको हो । यस परियोजनाका निर्देशक कृष्ण बम मल्ल र जनकलाल शर्मा विस २०१० तिर पहिलो पटक चितवन घुम्न आएका रहेछन् । राप्ती दुन परियोजना र त्यो बेलाको चितवनको अवस्था समेटेर उनीहरु दुईजनाले ‘रापती उपत्यका’ पुस्तक निकालेका छन् ।
सो पुस्तकको ‘जनसंख्या, निवासी र भाषा’ खण्डमा उल्लेख भए अनुसार राप्ती उपत्यकामा केही भाग मकवानपुरको पनि पर्ने भएका कारण दुवै तर्फको गरेर अनुमानित जनसंख्या ४० हजार जति थियो रे । यस उपत्यकामा अधिक संख्या थारु र त्यसपछि दराई, दनुवार, चेपाङ, मगर, तमाङ कही कही ब्राह्मण क्षेत्री आदि बाहिरिया जाति पनि छन् भनेर पुस्तकमा लेखेका छन् । अर्थात उबेला चितवनमा चेपाङहरु बहुसंख्यक भित्रै पर्दथे ।
चेपाङहरु पहिल्यैदेखि चितवनको पहाडी क्षेत्रमा बस्दै आएका थिए । अहिले पनि जिल्लाको पहाडी क्षेत्रमा नै उनीहरुको बसोबास छ । चेपाङ बस्ने पहाडी पखेराहरुमा अहिले पनि अरु जाति कमै बसेका छन् । तर सिङ्गो चितवनको कुरा गर्ने हो भने चेपाङहरु अल्पसंख्यक हुन् । हालै सार्वजनिक ७८ सालको जनगणनाको नतिजा अनुसार चितवन जिल्लाको कुल जनसंख्या सात लाख १९ हजार ८५९ छ । तिमध्ये चेपाङहरु ३५ हजार ६३७ मात्रै छन् ।
अहिले जनसंख्याको चापको हो हल्लाभित्र हराइ रहेका चेपाङहरुलाई सुन्ने कमै छन् । त्यसैले बागमती प्रदेश सरकारले उनीहरुको मुख्य पर्व छोनाममा बिदा दिदा बिदामा आनन्द मात्रै मानेर नबसी चितवनको आदिवासी चेपाङका बारेमा चासो राखे उत्तम हुने देखिन्छ । छोनाम भनेको चेपाङहरुले भदौ पुर्णीमामा मनाउने पर्व हो । तर नेपाल चेपाङ संघले भदौ २२ लाई एउटा मिति तोकेर यो दिन बिदा दिन माग गर्दै आएको थियो ।
चेपाङ संघले दुई दशकदेखि गर्दै आएको माग प्रदेश सरकारले सुनुवाइ गर्दै कम्तिमा प्रदेशको चेपाङ बहुल तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गत वर्षदेखि गर्दै आएको छ । छोनामलाई कसैले च्वनाम भनेर गलत उच्चारण पनि गर्दछन् । यसै गरी छोनाममा मुख्य भूमिका हुने पान्देलाई पान्डे भनेर लेख्ने बोल्ने गर्दा आफूहरुको मौलिक पर्व र विधि विधानहरु नै बिग्रने खतरा हो कि भन्ने चिन्तासमेत चेपाङ अगुवाहरुले लिने गर्दथे ।
न्वागी भनेर जान्ने बुझ्ने प्राय छन् । छोनाम पनि न्वागी जस्तै हो । राममणि ढुङ्गेलले आफ्नो पुस्तक ‘चेपाङ समुदाय र संस्कृति’मा लेखे अनुसार अन्य जातिहरु चतुर्मासको ब्रत धारण गरी कात्तिक महिनाभरि विशेष स्नान गर्ने र दैनिक तुलसीको पूजा गर्ने र चतुर्मासको अन्त्यमा पूजाआजा गरी नयाँ अन्न दान गर्ने, चढाउने र आफूले खाने चलन छ जसलाई न्वागी भनिन्छ । तर चेपाङहरु यही काम भदौमा गर्दछन् ।
चेपाङ र अन्य समुदायको बसोबासको भौगोलिक अवस्था र अन्न उत्पादन फरक परेका कारण न्वागी भदौमा पर्न गएको हो । धान उत्पादन हुने ठाउँमा कात्तिक मंसिरमा न्वागी गर्दछ । किनकि धान स्याहार्ने समय यही हो । तर चेपाङ बहुल क्षेत्रमा धान उत्पादन हुने खेत हुँदैनन् । उनीहरुले पहाडी पाखा पखेरामा खोरिया फाँडेर कोदो, मकै रोप्ने गर्दछन् । तर अचेल खोरिया फाँड्ने क्रम लगभग रोकिएको छ ।
सुख्खा पाखामा हुने घैया धान पनि केहीले लगाउने गर्दथे । अचेल फाट्टफुट्ट नै सही चेपाङ गाउँमा पनि धान रोपाई हुन्छ । तर पहिला यस्तो थिएन । त्यही पाखा पखेरामा फेलका मकै, घैया, पिँडालु, घिरौला स्याहार्ने भनेको भदौ लागेपछि नै हो । चेपाङ समुदायमा आफ्नो खेतको उब्जनीले १२ रै महिना खान पुग्ने धेरै कम छन् । चैत्र बैशाखपछि धेरैका घरमा अन्न सकिन्छ । नयाँ अन्न तरकारी भदौमा तयार हुन्छ । त्यसैले भदौमा न्वागी मनाउने चलन बसेको हो । डा.विष्णुप्रसाद घिमिरेले आफ्नो पुस्तक ‘चितवनका आदिवासी जनजातिको सामाजिक र साँस्कृतिक अध्ययन’मा उल्लेख गरे अनुसार न्वागीमा चेपाङहरुले भूमि पूजा गरी आफ्ना पितृलाई नयाँ उब्जनी चढाई आफूले पनि खाने गर्दछन् ।
‘यस अवसरमा कसैले आफ्नै घरमा र कसैले स्थानीय पुरोहित पाँडे (खासमा डा.घिमिरेले पनि आफ्नो पुस्तकमा पाँडे लेखेका छन् । तर चेपाङ समुदायको पुरोहितलाई पाँडे नभएर पान्दे भनिन्छ)को घरमा आ–आफ्नो घरबाट अन्न, फलपूmल, जाँड, रक्सी आदि लैजान्छन् । साथै पाँडेले पनि ढ्याङ्ग्रो ठोकी रातभर पितृहरुलाई फलाक्दै बोलाएर नयाँ अन्न अर्पण गराउने कार्य तान्त्रिक पद्दतिबाट गर्दछन्’ घिमिरेको पुस्तकमा उल्लेख छ ।
चेपाङ समुदायमा उखानै छ छ महिना सहकाल छ महिना अनिकाल । अर्थात आफ्नो उब्जनीले छ महिनाभन्दा बढी खान नपुग्ने चेपाङहरु प्रशस्तै छन् । त्यसैले नयाँ अन्न तरकारी भित्रिएका बेलामा मनाउने न्वागी अर्थात छोनाम यो समुदायको मुख्य पर्व हो । अजयकुमार प्रजा चेपाङले आफ्नो सोधग्रन्थ ‘चेपाङ समुदाय’मा लेखे अनुसार यो पर्व भदौ महिनाको पूर्णिमाको समयमा खास गरेर सोमबार पारेर मनाइन्छ ।
नयाँ अन्न, कर्कलो, निबुवा न्वागी नगरी खाए पितृ रिसाएर अनिष्ट हुने, अर्को वर्ष बाली राम्रो नहुने विश्वास चेपाङ समुदायलाई छ । त्यसैले रातभरी चेपाङका पान्देले बाखम फलाकेर अन्न पितृलाई चढाउँदै सुख सम्वृद्धिको कामना गर्ने अजयको कितापमा उल्लेख छ । पान्देले फलाक्दा सबै जाग्राम बस्नु पर्दछ भन्ने छ । कुवा लाग्ने समयमा सुते सुतुवाको गुनसिङ आत्मा पनि पितृ लैजाने क्रममा सँगै जाने विश्वास छ ।
त्यसैले जाग्राम बस्नेहरु गीत गाउँदै, मादल घन्काउँदै रातभर रमाइलो पनि गर्दछन् । ढ्याङ्ग्रोको आवाज र मादलको तालले वातावरण पुरै संगितमय हुन्छ । तर यो ढ्याङ् ढ्याङ् छिर्लिङ, छिर्लिङ र मादलको घिन्ताङ पहाड कटेर यता नयाँ बस्तीमा सुनिन गाह्रो प¥यो । सायद गत वर्षबाट सुरु भएको सरकारी बिदाले वागमती प्रदेशका चेपाङ बहुल तीन जिल्लाका बासिन्दाले छोनामका बारेमा चासो राख्न सुरु गर्लान् कि ?
चेपाङहरु चितवन, मकवानपुर, धादिङको पहाडी पाखा र गोरखा जिल्लाको त्रिशुली आडको पहाडी पाखामा बाक्लै बसोबास गरेका छन् । यस बाहेक अन्य जिल्लामा फाट्टफुट्ट बसोबास छ । यी पाखाहरुमा चेपाङहरु बस्न थालेको शताब्दियौं अघिबाट हो । पहिला चेपाङहरुको राज्य नै रहेको अजयकुमार प्रजा चेपाङले लेखेका छन् । पुर्व थली (पुकुन्थली) र सुनाथली (हालको ओखलढुङ्गा र दोलखा)मा चेपाङ राजाले नै राज्य सञ्चालन गरेका थिए ।
पाटनका मल्ल राजाले पराजित गरेपछि उनीहरु विस्थापित हुँदै हुँदै अहिलेको ठाउँमा आएको अजयको पुस्तकमा विवरण छ । मल्लहरुको शासन काल विस १२०१ देखि १७६९ सम्म रहेको हुँदा पाटका मल्ल राजाले चेपाङ राजालाई हराएपछि विस्थापन सुरु भएको हो भन्ने भनाइलाई आधार मान्दा चेपाङहरु अहिलेको क्षेत्रमा आएर बसेको कम्तिमा पनि तीन सय वर्ष नाघेको देखिन्छ । त्यसैले चितवनको भूमिमा मनाइने निकै पुरानो पर्व हो छोनाम ।
जुन पर्वको चितवनको बाँकी क्षेत्रमा चर्चा हुन थालेको केही दशक भयो । नयाँ पुस्ताले सुन्न थालेको त सायद यही बिदा हुन थालेपछि न होला । आफ्नै राज्य भएका चेपाङहरु युद्धमा पराजित भएपछि लुक्दै जोगिदै र सुरक्षित हुने उपाए लगाएका कारण हम्मेसी कोही नपुग्ने पहाडी पखेरामा छिन्न भिन्न भएर बस्न थाले । नयाँ मान्छे देखे युद्धमा हराएको ‘नेपाले राजा’ नै हो कि भनेर उनीहरुबाट लुक्न थाले ।
शाहा राजाको पालामा राजा विरेन्द्रले चेपाङहरुलाई आफ्नै ‘प्रजा’ मान्न थाले । अनि विकासका कार्यक्रमहरु पनि ल्याए । तर मल्ल राजाले हराएपछि उनीहरुको थप आक्रमणबाट जोगिन आफ्ना पुर्खाले लगाएको उपाय संस्कारमा रुपान्तरण भएर बसेको थियो । मनमा गडेको डर, आशंका र त्यसैका आधारमा बनेको सामाजिक जीवनबाट बाहिर निकाल्न नसक्दा उनीहरु विकासको मूल प्रवाहमा आउन सकेनन् ।
राजाले प्रजा भन्दै आए पनि ५८ सालपछि फेरि चेपाङ नै लेख्ने अभियान चल्यो । त्यसैले प्रजा र चेपाङ एकै हुन् । जिल्लाको पुरानो बासिन्दाको मुख्य पर्व छोनामबारे सबैले चासो दिए एकअर्कालाई बुझ्न, समुदायको विशेषता थाहा पाउन सकिन्छ । खास जातिका खास खास पर्वहरुले उनीहरुको जीवन शैलीलाई अपनाएको हुन्छ । त्यसैले यस्ता पर्वले उनीहरुको सामजिक जीवन बुझेर समाज विकासको खाका कोर्न मद्दत गर्दछ ।





