भरतपुर, २१ भदौ ।
भरतपुर महानगरपालिका वडा नम्बर- ९ स्थित गुरुकुल माविका विद्यार्थीहरुलाई बोल्ने कलाको प्रशिक्षण दिइएको छ । कक्षा ११ मा पढिरहेका विद्यार्थीलाई जीवनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा बोल्ने कला सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कक्षा ११ का व्यवस्थापन विषयका विद्यार्थीहरुलाई जीवनसँग जोडेर निर्धक्कसँग आफ्नो विचार कसरी राख्ने र जीवनका अप्ठ्याराहरूसँग कसरी जुध्ने भन्ने विधिबारे प्रशिक्षण प्रदान गरिएको हो ।
बोस्टन कलेजका निशा पटवारी र ईन्जिनियर सुजितकुमार लिबीद्वारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा १३५ जना विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै गुरुकुल कलेजका शैक्षिक निर्देशक सिर्जन अविरलले विद्यार्थीहरूलाई आजको संसारमा टिक्न र बिक्न सक्ने बनाउन यस्ता कार्यक्रमहरूको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक सुशील रेग्मीले सञ्चालन सहजीकरण गरेको उक्त कार्यक्रममा कलेजका निवर्तमान प्राचार्य नवीन भण्डारीले अतिथिहरूलाई सम्मानस्वरुप कलेजका तर्फबाट मायाको चिनो उपलब्ध गराएका थिए ।





