भरतपुर, १९ भदौ ।
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दीपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धिसागर सापकोटा, कोषाध्यक्षमा नेत्रप्रसाद शर्मा, सहकोषाध्यक्षमा बिमला अधिकारी, सदस्यमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञबहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरिप्रसाद भट्ट निर्विरोध भएका छन् । निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरी शपथग्रहण गराएका थिए ।
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले घर भाडामा दिने र लिनेहरुको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै करको दरभन्दा पनि दायरा बढाउनु पर्नेमा भरतपुर महानगरपालिकाले जोड दिएको बताए । पछिल्लो समय कोरोना लगायतका कारणले आर्थिक मन्दीको अवस्था देखिएको भन्दै व्यवसायीलाई टिकाउन व्यावसायिक वातावरण निर्माण गर्न महानगर तयार रहेको बताउँदै उनले घर बहाल कर भरतपुर महानगरपालिकाको राजश्व संकलनको मुख्य स्रोत भएको बताए ।
कार्यक्रममा उत्कृष्ट घरधनीको रुपमा नारायण सापकोटा र घर बहालमा बस्ने उत्कृष्ट व्यवसायीको रुपमा मनास्लु होटल पुल्चोकका प्रोप्राइटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा घर बहाल सरोकार मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष शिरिस पन्त, घर बहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना, नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष तिलक सिंह कार्की, नेपाल घर बहाल उपभोक्ता मञ्च रुपन्देहीका अध्यक्ष राजु लिगल लगायतले बोलेका थिए ।
कार्यक्रममा मञ्चका महासचिव जनकलाल कट्टेलले वार्षिक प्रगति प्रतिवेदन र विवाद समाधान उपसमितिका सदस्य सुरेन्द्र केसीले उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष हेमराज पौडेल, पूर्वअध्यक्षहरु श्रीराम गिरी, हरि शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो । संस्थाका सचिव रामबन्धु पौडेलले संचालन गरेको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं साधारणसभा तथा अधिवेशन कार्यक्रमका संयोजक गणेशप्रसाद पौडेलले धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।





