भरतपुर, १८ भदौ ।
एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।
लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन् ।
वर्षाका कारण दुइ घण्टाभन्दा बढी समय खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो ।
१ सय ४५ रनको लक्ष्य भारतले विना विकेटको क्षति १७ बल अगावै भेट्टायो । पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकालेको हो ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा विना विकेटको क्षति १७ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको भएको थियो ।
त्यसअघि श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो ।





